भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा संसदमा रहेका पार्टीहरुको पछि लागेको भनेर भास्य स्थापित गर्न खोएिको बताउनुभयो । उहाँले रास्वपा कुनै पार्टीको पछि नलाग्ने स्पष्ट पार्नुभयोे ।
रास्वपा लुम्बिनी प्रदेश कमिटीले भैरहवामा आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको शनिबार समापन गर्दै सभापति लामिछानेले संसदमा रहेका कुनै पार्टीको पछि रास्वपा नलाग्ने जनाउँदै जहिल्यै जनताको मुद्दामा अघि बढ्ने बताउनुभयो । उहाँले विगतमा रास्वपा सरकारमा जाँदा पनि जनताका मुद्दालाई पहिलो प्राथमिकतामा राखेर गएको स्मरण गर्दै उहाँले सधै आम नागरिकलाई माथि राखेर पार्टी अघि बढ्ने बताउनुभयो ।
सभापति लामिछानेले अहिले पार्टीविरुद्ध षडयन्त्र भइरहेको समेत बताउनुभयो । उहाँले मिटरब्याजसम्बन्धी अध्यादेश संसदमा टेबल गर्दा र नागरिकता विधेयकमा समेत संसदमा बोल्न नदिएको जनाउँदै यसलाई पार्टीविरुद्धको षडयन्त्र भएको बताउनुभयो । तर, रास्वपा आफ्नै बलबुता र जनताको साथले छोटो समयमा यहाँ आएको पार्टी भएकाले जस्तासुकै षडयन्त्र भए पनि चिरेर अघि बढ्ने प्रष्ट्याउनुभयो ।
गएको निर्वाचनमा भएभरमा दलहरु एक हुँदा पनि आफूहरु यो स्थानमा आएको स्मरण गर्दै लामिछानेले २०८४ मा अझै विशाल पार्टी बन्ने बताउनुभयो । राम्रा, योग्य, अनुशासित नेताकार्यकर्ता जुनसुकै पार्टीबाट पनि रास्वपा आउन सक्ने र त्यस्तालाई पार्टी पनि उचित स्थान दिएर भित्र्याउने उहाँले बताउनुभयो । उहाँले पार्टीले भातृ संगठन नबनाउने र समितिमार्फत् सबैलाई गोलबद्ध गरिने जनाउँदै अन्य पार्टीलाई पनि भातृसंस्था खारेज गरेर देखाउन चुनौति दिनुभयो ।
क्याम्पसहरुमा ताला लगाउने र तोडफोड गर्ने भातृ संस्था जरुरी नरहेको उहाँको भनाइ छ । सभापति लामिछानेले अहिले सरकारले नक्कली भुटानी शरणार्थी लगायतका विषयमा केही काम गरेको तर त्यो पर्याप्त नभएको बताउनुभयो । उहाँले भ्रष्टाचारसम्बन्धी अहिले अनुसन्धान भएका र टुंगोमा नपुगेका वा कसैलाई उन्मुक्ति दिएका फाइल २०८४ मा रास्वाप विशाल पार्टी भएपछि भ्रष्टाचारीलाई ठेगान लगाएरै छाड्ने दावी गर्नुभयो ।



