गल्याङ । स्याङ्जा २ र बाजुरामा पुनः मतदान नहुने भएको छ । निर्वाचन आयोगको बुधबार बसेको बैठकले गणना सुचारू गर्न निर्देशन दिएको छ । एमालेले यी दुवै स्थानमा पुनः मतदान गर्नुपर्ने भन्दै आयोगमा ज्ञापनपत्र बुझाएको थियो । एमाले महासचिव शंकर पोखरेल नेतृत्वमा गएको टोलीले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई भेटेर स्याङ्जा २, बाजुरा, दोलखा, उदयपुर १, मोरङ १ मा धाँधली भएको भन्दै पुनः मतदान गर्नुपर्ने माग गरेको थियो । यही बीचमा कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको टोलीले प्रमुख निर्वाचन आयुक्त थपलियालाई भेटेर बाजुरा र स्याङ्जा २ मा तत्काल मतगणना गर्न माग गरेको थियो ।
एमाले र कांग्रेसको अलग अलग मागपछि आयोग कुनै निर्णयमा पुग्न सकेको थिएन । यस विषयमा आयोगका आयुक्तहरू नै दुई भागमा विभाजित भएका थिए । स्याङ्जा २ मा राति ९ बजेपछि मतगणना सुरू हुने भएको छ । मङ्सिर ४ गते मतदान सम्पन्न भए पनि हालसम्म त्यहाँ मतगणना हुन सकेको छैन । एमालेले पुनःमतदानको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएको थियो । तर, निर्वाचन आयोगले बुधबार पुनःमतदान गर्नु नपर्ने भन्दै यसअघि भएको मतदानअनुसार मतगणना गर्ने निर्णय गरेको थियो ।
आयोगको निर्णयपछि बुधबार स्याङ्जा २ का निर्वाचन अधिकृतले सर्वदलीय बैठक बोलाएका थिए । सर्वदलीय बैठकमा राति ९ बजेदेखि मतगणना सुरु गर्ने विषयमा छलफल भए पनि अहिलेसम्म औपचारिक निर्णय भने भएको छैन् । यहाँबाट काँग्रेसका उपसभापति धनराज गुरुङ र एमालेका सचिव पद्मा अर्याल चुनावी प्रतिस्पर्धामा छन् ।



