बुटवल । यहि फागुनको २ गतेदेखि बुटवलमा सञ्चालन गरिएको कृषि मेला सकिएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयको संयुक्त आयोजनामा सञ्चालन गरिएको पाँच दिने कृषि मेला–२०७९ शनिबार सकिएको हो ।
पाँच दिनसम्म सञ्चालन गरिएको मेलामा २५ हजार उपभोक्ताले अवलोकन गरेको र मेलाभित्र २० लाखको कारोवार भएको संघका अध्यक्ष तथा मेलाका संयोजक उज्ज्वल प्रसाद कसजूले बताए ।
मेलाको समापन गर्दै लुम्बिनीप्रदेश कृषि तथा भूमिव् यवस्था मन्त्री तुलसीराम शर्माले किसानका समस्या समाधान गर्ने बताए । कृषिको विकास विना मुलुकको आर्थिक विकास सम्भवन भएको बताउँदै उनले किसानका समस्या समाधान गरेर मुलुकको अर्थतन्त्रलाई थप गतिशिल बनाउने गरी कार्यक्रम ल्याउने प्रतिवद्धता व्यक्त गरे ।
त्यस्तै बुटवलका नगरप्रमुख खेलराज पाण्डेयले मुलुकको आर्थिक विकासको लागि कृषिको विकास अपरिहार्य रहेको बताउँदै कृषिको विकासको लागि नगरपालिकाले ठूलो योजना बनाएको बताउँदै उक्त योजना पुरा गर्नको लागि सबैको साथ र सहयोगको लागि आग्रह गरे । उनले त्यस बाहेक पनि कृषिको व्यवसायिक विकासको लागि नगरपालिकाको तर्फबाट के गर्न सकिन्छ सुझाव दिन आग्रह गरे । कार्यक्रममा स्वागत गर्दै संघका अध्यक्ष उज्ज्वल प्रसाद कसजूले कृषि क्षेत्रको विकास र प्रवद्र्धनको लागि संघले २०६२ सालदेखि नियमित रुपमा कृषि मेला सञ्चालन गर्दै आएको बताए ।
नेपालको कुल जनसंख्याको करिव ६५ प्रतिशत कृषि क्षेत्रमा आधारित भएपनि कुल ग्राहस्थ उत्पादनको ३६ प्रतिशत मात्रै योगदान रहेकाले कृषि क्षेत्रमा रहेको अपार सम्भावनालाई उजागर गर्दै थप लगानी भित्र्याउन र कृषि क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता बढाउन कृषि मेलालाई निरन्तरता दिदै आएको उनको भनाई छ ।
मेलाको समापन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका सदस्य जमशेर अलीमिया, कृषि तथा भूमिव्यवस्था मन्त्रालयका निमित्त प्रमुख रामप्रसाद पाण्डे, संघका पूर्व अध्यक्ष कुशप्रसाद मल्ली, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश महासचिव विक्रम खड्का, कपिलबस्तु उद्योग वाणिज्य संघका अध्यक्ष दोलकराम घिमिरे, संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, सहभागी स्टल भैरव च्याउका सञ्चालक केशव कार्की, लुम्बिनी फलफूल व्यवसायी संघका अध्यक्ष बाबुराम न्यौपाने लगायतले भनाई राखेका थिए ।
‘बजारमुखी कृषिको आधार, समुन्नत नेपालको पूर्वाधार’ भन्ने मुल नाराका साथ आयोजना गरिएको कृषि मेलामा ‘प्रथम पोर्क फेष्टिवल’ समेत आयोजना गरिएको गरिएको थियो । पाँचदिनसम्म सञ्चालन गरिएको मेलामा प्रविधिको प्रदर्शनी, उत्कृष्ट कृषिउत्पादनको प्रदर्शनी, कृषि सेवा सम्बन्धि जानकारी मुलक र पोर्क पेष्टिवलका समेत गरी ५० स्टल समावेश गरिएको संघका महासचिव बिमलराज भट्टराईले जानकारी गराए ।
कृषिका अत्याधुनिक प्रविधितर्फ धान रोप्ने मेसिन, बालि काट्ने मेसिन, गोड्ने मेसिन, बेलर मेसिन, थोपासिचाई प्रविधि, हाईड्रोपोनिक्स, मौरी पालन, जैविक मल लगायतको प्रदर्शनी गरिएको थियो । त्यस्तै कृषि सम्बन्धि अन्तरक्रिया तथा छलफल र दुग्धपान प्रतियोगिता तथा कृषिमा आधारित सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएको थियो । उपत्यका बाहिर २०४१ सालमा पहिलो पटक बुटवलमा औद्योगिक व्यापार मेला आयोजना गरेको बुटवल उद्योग वाणिज्य संघले २०६२ सालदेखि नियमित रुपमा विशिष्टिकृत कृषि मेलागर्दै आएको छ ।



