बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेपाल जेसीजको क्षेत्र ‘घ’ सम्मेलन हुने भएको छ । तिलोत्तमा जेसीजको आथिथ्यतामा यहि भदौको ८ र ९ गते तिलोत्तमाको मणिग्राममा नेपाल जेसीजको क्षेत्र ‘घ’ सम्मेलन गर्न लागिएको शनिबार पत्रकार सम्मेलन गरी जानकारी गराईएको हो ।
सम्मेलनका उपनिर्देशक तथा तिलोत्तमा जेसीजका पूर्व अध्यक्ष यादव भट्टराईले दुई दिनसम्म चल्ने सम्मेलनमा क्षेत्र घ अन्तरगत गैडाकोटदेखि पश्चिम महेन्द्रनगरसम्मका ५८ शाखाबाट करिव ५ सय प्रतिनीधि तथा पर्यावेच्छेक, नेपाल जेसीज र अन्यशाखा तथा अतिथि समेत गरी करिव १ हजार जनाको सहभागिता रहने जानकारी गराउनु भयो ।
सम्मेलनमा तीन जना युवा नेताहरु स्पिकरको रुपमा तय गरिएको छ । जसमा नेपाली काँग्रेसका प्रदिप पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका मनिश झा र एमालेका योगेश भट्टराईलाई चयन गरिएको छ । पौडेल र झाको सेडुल तय भईसकेको र भट्टराईको निश्चित हुन बाँकी रहेको पनि सम्मेलनका उपनिर्देशक भट्टराईले जानकारी गराउनु भयो । उहाँका अनुसार सम्मेलनको लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।
सम्मेलनमा विभिन्न विषयमा कार्यपत्र प्रस्तुत हुने र प्यानल फलफल हुने तिलोत्तमा जेसीजका अध्यक्ष प्रकाश गौतमले जानकारी गराउनु भयो । नेपालमै उत्कृष्ट नगरपालिकाको रुपमा पहिचान स्थापित गरेको नयाँ नगरपालिका तिलोत्तमामा थप सम्भावनाको खोजी र त्यसको प्रचारप्रसारको लागि पनि कार्यक्रम गर्न तिलोत्तमा जेसीज अग्रसर भएको उहाँको भनाई छ ।
त्यस्तै सम्मेलनमा आएका प्रतिनीधिहरुलाई तिलोत्तमा नगरपालिकाले गरेका राम्रा कामहरुको स्थलगत अवलोकन गराईने तिलोत्तमा जेसीजका पूर्व अध्यक्ष तथा नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष विनोद सुवेदीले जानकारी गराउनु भयो ।
सम्मेलनलाई सफल रुपमा सम्पन्न गर्नको लागि तिलोत्तमा जेसीजले तयारीका कामहरु गरिरहेको महासचिव महेश शर्मा पौडेलले जानकारी गराउनु भयो । उहाँका अनुसार पत्राचार, सहभागिको दर्ता, आर्थिक व्यवस्थापन लगायत अरु तयारीका काम भईरहेको र समयमै तयारीका काम सम्मन्न हुने छन् ।



