बुटवल । नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं.२ को सभापतिमा प्रजापाल गिरी बिजयी निर्वाचित हुनु भएको छ । शनिबार भएको पार्टीको उपनिर्वाचनमा प्रतिस्पर्धि परशुराम ढकाललाई १०१ मतले पराजित गर्दै क्षेत्रीय सभापतिमा गिरी निर्वाचित हुनुभएको हो ।
६७४ क्षेत्रीय प्रतिनिधि मतदाता रहेकोमा ६१३ मत खसेको थियो । त्यसमध्ये सभापतिमा निर्वाचित गिरीले ३४६ मत प्राप्त गर्नुभएको छ भने अर्का प्रत्यासी परशुराम ढकालले २४५ मत प्राप्त गर्नुभएको थियो ।
त्यस्तै सहसचिव पदमा संगिता अर्याल गौतम निर्वाचित हुनुभएको छ । उहाले अर्का प्रत्यासी विष्णुप्रसाद चापागाईलाई ८ मतले पराजित गर्दै विजयी हुनुभएको हो । सहसचिव पदमा निर्वाचित अर्यालले २९७ मत र चापागाईले २८९ मत प्राप्त गर्नु भएको छ ।
पार्टीको १४ औं महाधिवेशनबाट क्षेत्रीय सभापतिमा निर्वाचित हरी लम्सालले राजिनामा गरेपछि रिक्त रहेको क्षेत्रीय सभापति पदमा शनिबार निर्वाचन भएको हो । त्यस्तै सहसचिव राजबहादुर क्षेत्री पार्टी परित्याग गरेपछि सहसचिव पद पनि रिक्त रहेको थियो ।
क्षेत्रीय समितिमा रिक्त दुई पदका लागि शनिबार बुटवलको बालमन्दिरमा बिहान ८ बजेदेखि ४ बजेसम्म मतदान भएको थियो ।



