रुपन्देहीको क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालले नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच बनेको चुनावी गठबन्धन केवल केपी ओलीलाई झापा ५ बाट जिताउन बनेको भनि टिप्पणी गरेका छन् ।
एमाले परित्याग गरेर पाँच दलीय गठबन्धनको समेत सर्मथमा उम्मेदवार बनेका नेता भुसालले भने, ‘अन्य गठबन्धनलाई अपवित्र भन्ने केपी ओलीले राप्रपासंग गरेको गठबन्धन बरु अपवित्र हो, झापा क्षेत्र नं. ५ चुनाव हार्ने डरले ओलीले राप्रपासंग गठबन्धन गरेका हुन् ।’ उनले थपे, ‘एमालेलाई चाहिएर होइन झापामा आफू सुरक्षित हुन ओलीलाई चाहिएर बनाएको गठबन्धन हो ।’ भुसालले एमाले–राप्रपा बाहेकका गठबन्धन बरु संविधान रक्षाका लागि बनेका गठबन्धन भएको बताए ।
ओलीले संविधान च्यात्ने कोशिस गर्दा बिरोधमा उभिएका सबै शक्ति पवित्र र सविधानको रक्षा गर्ने गठबन्धनका रुपमा स्थापित भएको उनको तर्क छ । रुपन्देहीको देवदहमा सम्पर्क कार्यालय उद्घाटन गर्दै नेता भुसालले ओलीले आफू र केही सीमित एमालेका नेतालाई जिताउन राप्रपासंग चुनावी एकता गरेको बताए ।
त्रिभुज चुनाव चिन्ह लिएर चुनावी मैदानमा रहेका नेता भुसालले आफू पाँच दलीय गठबन्धनको मात्र नभएर समाजबादको यात्रामा रहेका एमालेका नेता कार्यकर्ताको पनि उम्मेदवार रहेको बताए । उनले भने, ‘म गठबन्धनको मात्र होइन मैले ४५ वर्षसम्म योगदान गरेको एमाले भित्रका समाजवाद उदेश्य भएका सबै साथीहरुको म प्रतिनिधि हुँ ।’ नेता भुसालले ५ सय एमाले पार्टी सदस्यबाट अहिले ११ लाख पुर्याउन आफूले महत्वपूर्ण भूमिका खेलेको बताए । समाजवाद उन्मुख एमाले नेता कार्यकर्ताले आफूलाई मत हालेर जिताउने विश्वास उनले ब्यक्त गरे ।
कार्यक्रममा प्रदेश सभा (ख) का उम्मेद्वार अब्दुल रज्जाकले स्थानीयको चाहना अनुसार विकास निर्माणका काम अघि बढाइएको भन्दै आगामी कार्यकालमा धेरै अधुरा आयोजनाहरु पुरा गरिने बचनबद्धता प्रकट गरे ।



