बुटवल । नेपाली कथानक चलचित्र फुलबारी फिल्मको टिम शनिबार बुटवल पुगेर आफ्नो चलचित्र हेरिदिन दर्शकहरुलाई आग्रह गरेका छन् । शनिवार बुटवलमा पत्रकार सम्मेलन गर्दै आफ्नो चलचित्र हेरिदिन दर्शकहरुलाई आग्रह गरेका हुन् । फागुन ५ गते देखि प्रदर्शन हुने फिल्मको प्रमोशनका लागि देश दौडाहामा निस्केका चलचित्रका कलाकारहरु विपिन कार्की, प्रियंका कार्की, शिल्पा मास्के, संगितकार, गायक कालिप्रसाद बास्कोटा निर्माता मनिष ढकालसहित कार्यकारी निर्माता मनिराम पोखरेलको टिम बुटवल आएका हुन् ।
चलचित्र पत्रकार संघ रुपन्देहीको आयोजनामा भएको पत्रकार भेटघाटमा उनीहरुले पारिवारीक कथामा आधारित चलचित्रमा दैनीक जीवनमा घरघरमा घट्ने घट्नाहरुलाई उजागर गरिएको बताए । उनीहरुले फुलवारी परिवारका सबै सदस्यहरु सँगै बसेर हेर्न मिल्ने चलचित्र भएको दाबी गर्दै सबैले भोगेको साना सना कुरामा घरमा देखिने शंका उपशंकालाई कथामा उतार्न खोजिएको बताए ।
रामबाबु गुरुङको निर्देशन ,यशोधा फिल्मको ब्यानर, कमलकिशोर मालपानीको कथामा फिल्म निर्माण भएको निर्माता मनिष ढकालले बताए ।
पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी निर्माता मनिराम पोखरेलले काठमाडौ पछिको सबैभन्दा धेरै ईभेन्ट हुने स्थानका रुपमा परिचय बोकेको बुटवलमा चलचित्रको राम्रो दर्शक रहेको बताए । कलाकार विपिन कार्कीले सधै कला क्षेत्रमा आफू नयाँ भुमिका गर्न खोज्ने बताउँदै फुलवारीमा पनि नयाँ क्यारेक्टर पाउदा फिल्म खेल्न तयार भएको बताए । ‘जयनारायण सरको रिटार्ड मास्टरको भुमिकामा देखिने छु ।’ – उनले भने । परिवार बिनाको मानिसको कल्पना गर्न नसकिने भन्दै यहि पारिवारिक कथा चलचित्रमा रहेको हुदा दर्शकले मन पराउनेमा आफू आशावादी रहेको बताए ।
कार्यक्रममा नायिका प्रियंका कार्कीले विभिन्न पात्रहरुले परिवारको सदस्यहरुको बिचमा हुने जिवन्त सम्बन्धलाई चलचित्रमा देखाउन खोजिएको बताइन् । ‘हाम्रो नेपाली कथा हो ।’ –उनले भनिन् । फुल फेमिली ड्रामा चलचित्रमा रहेको बताउँदै उनले यसले एउटा सन्देश दिन खोजेको समेत बताईन् । फुलबारी नाम अनुसार नै सबै पात्रहरु फरकफरक फुलहरुको कलालाई देख्न सकिने उनको भनाई छ ।
बुटवलबाट प्रोमोशन शुरु गरेको टिमले नेपालका मुख्य पाँच स्थान पोखरा, चितवन, ईटहरी, बिर्तामोड पुग्ने छ । कार्यक्रम चलचित्र पत्रकार संघ रुपन्देहीका उपाध्यक्ष दिनेश कुमार श्रेष्ठको अध्यक्षता र सचिव विकाश गौतमको संचालनमा सम्पन्न भएको थियो ।



