बुटवल । बुटवल औद्योगिक क्षेत्र उद्योग संघले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले मनोमानी ढंगले जग्गाको भाडा बृद्धि गरेको भन्दै चरणबद्ध आन्दोलनको घोषणासहित ज्ञापनपत्र बुझाएको छ । नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले तय गरेको चरणबद्ध आन्दोलनको कार्यक्रमको जानकारी सहितको ज्ञापनपत्र संघले बुधवार बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा बुझाएको हो ।
संघका अध्यक्ष हिरामणी भट्टराईको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले लिमिटेडका प्रशासन अधिकृत जिवनारायण बञ्जाडेलाई ज्ञापनपत्र बुझाइएको थियो । सो अवसरमा अध्यक्ष भट्टराईले उद्योगिहरुको असहमति र नियम विपरित भाडा बृद्धि गरेर उद्योग बन्द गराउने योजनामा व्यवस्थापन लागेको आरोप लगाएका छन् उनले भाडाको बारेमा समस्या समाधान गर्न समिति बनाएर काम भैरहेको अवस्थामा बल जफ्ती बढाइएको भाडा आफुले नतिर्ने र उक्तकदमका विरुद्ध चरणबद्ध आन्दोलनमा जाने चेतावनी दिए ।
त्यस अवसरमा संघका पूर्व अध्यक्ष एव लुम्बिनी उद्योग परिसंघका अध्यक्ष एजाज आलमले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको बर्तमान नेतृत्व औद्योगिक क्षेत्रको विकासका लागि नभएर विनासका लागि काम गरिरहेको आरोप लगाउदै त्यसका विरुद्ध कुनै पनि प्रकारको आन्दोलनबाट उद्योगीहरु पछाडी नहट्ने बताए ।
ज्ञापनपत्र बुझ्दै लिमिटेडका प्रशासन अधिकृत जिवनारायण बञ्जाडेले औद्योगिक क्षेत्रको जग्गाको लामो समयदेखि भाडा बृद्धि नभएको र अहिले समय सापेक्ष बृद्धि गरिएको दावीगर्दै त्यसलाई कार्यान्वय नगर्न सहयोग मागेका थिए । उनको त्यो भनाईप्रति ज्ञापनपत्र बुझाउन पुगेको प्रतिनिधि मण्डलले असहमति जनाउदै उद्योगीहरुले कुनै प्रकारका शुल्क नतिर्ने चेतावनी दिएका थिए ।
प्रतिनिधि मण्डलमा संघका पूर्व अध्यक्षहरु तिलप्रसाद भट्टराई, गणेश प्रसाद अधिकारी, रामप्रसाद बस्याल, संघका सचिव कमल ज्ञवाली, कोषाध्यक्ष् ाप्रज्ववल थान्जु, सदस्य रामप्रसाद खनाल, विनोद न्यौपाने लगायतको सहभागिता रहेको थियो । संघले महासंघले तय गरेको कार्यक्रम अनुसार एक हप्तासम्म आफ्नो मागको सुनुवाई नभएमा व्यवस्थापकको कार्यकक्षमा तालाबन्दी, कार्यालय र उद्योगहरुमा कालो झण्डा तथा उद्योगले लिमिटेडलाई कुनै पनि किसिमको भाडा महशुल तथा शुल्क भुक्तानी रोक्का गर्ने जनाएको छ ।



