बुटवल । तिलोत्तमामा जारी तिलोत्तमा मेयर कप क्रिकेट प्रतियोगिता २०७९ अन्तर्गत सोमबार क्वाटरफाईनलका दुई खेलहरु सम्पन्न भएका छन् । तिलोत्तमा नगरपालिकाको आयोजना तथा नवजिवन क्लबको सहआयोजनामा नवजिवन खेल मैदानमा भएको पहिलो खेलमा वडा नं. ४ ले वडा नं. ९ लाई ३ विकेट तथा दोस्रो खेलमा वडा नं. १ ले वडा नं ३ माथि ५१ रनको जित निकाल्दै अन्तिम चारमा स्थान बनाएको हो ।
पहिलो खेलमा टस जितेर ब्याटिङको निर्णय गरेको वडा नं ९ ले निर्धारित २० ओभरमा सबै बिकेट गुमाएर ९४ रनको लक्ष्य खडा गरेको थियो । उसका लागि निश्चल शर्माले ५२ रनको अर्धशतकिय पारी खेलेका थिए । वडा नं. ४का सुरभ ढुङगानाले ३ तथा पदम ज्ञवालीले २ विकेट लिएका थिए ।
मध्यम लक्ष्य पछ्याएको वडा नं.४ का ब्याट्सम्यानहरुले १६.५ ओभरमा लक्ष्य भेटायो । यसको जितमा अजय थापाले २५ र रितिक थापाले २३ रनको योगदान दिए । वडा नं ९ का कमल अधिकारीले ३ र विर्पशन केसिले २ बिकेट लिएका थिए । खेलमा वडा नं ४ काअजय थापा प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।
यसैगरी दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको वडा नं. १ ले १७.४ ओभरमा सवै विकेट गुमाएर १ सय २३ रन बनाएको थियो । जसका लागि वडा नं. १ का युवराज सेनले ४ छक्का र ३ चौकाको मद्दतमा ५४ रन र प्रवेश सारुले १६ रनको योगदान दिएका थिए । वडा नं. ३ का सागर गैरेले ३ विकेट र केहर सिंह भण्डारीले २ विकेट लिए ।
प्रतिउत्तरमा वार्ड नम्बर तिन १६ ओभरमा अलआउट हुँदै ७२ रनमै समेटियो । उसका लागि आशिष श्रेष्ठले २४ रन र केहरसिंह भण्डारीले १६ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक बटुल्न सकेनन् । उसलाई सस्तैमा रोक्न बलिङमा वार्ड नम्बर १ विशाल न्यौपानेले ४ र विपिन भट्टराईले २ विकेट लिएका थिए । दोस्रो खेलमा वार्ड नम्बर १ का युवराज सेन प्लेयर अफ द म्याच भएका थिए ।
प्रतियोगिताको मङगलवार सेमिफाईनलका दुई खेल हुने छन् । पहिलो खेल वडा नं. २ र ४ तथा दोस्रो खेल वडा नं. १ र १७ का बीचमा हुने आयोजक नवजीवन क्लबका सचिव सागर पाठकले बताए ।



