बुटवल । स्याङ्जा पत्रकार समाज नेपालको दोस्रो स्थापना दिवस तथा नयाँ वर्ष २०८२ को सन्दर्भमा बुधबार बुटवलमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । समाजका अध्यक्ष डा. बालकृष्ण चापागाईंको अध्यक्षतामा भएको कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख खाँणले स्याङ्जाको समृद्धि, सभ्यता र संस्कृतिलाई विश्वसामु परिचित गराउन स्याङ्जा पत्रकार समाज नेपालको महत्वपूर्ण भूमिका रहने भन्दै समाज स्थापनाको एक वर्षमै धेरै रचनात्मक कामहरु भएकोमा खुसी व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै समाजका अध्यक्ष डा.बालकृष्ण चापागाईंले ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ भन्ने मान्यतालाई व्यवहारमा उतार्न स्याङ्जा पत्रकार समाज नेपालले विभिन्न योजनाहरु अघि सार्दै कार्य गरिरहेको बताउनु भयो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोखरेलले समाजले लिएको उद्देश्य र एक वर्षमा गरेका कार्यबाट सकारात्मक सन्देश सञ्चारित भएको भन्दै संस्थालाई बधाई दिनुभयो ।नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष तथा समाजका उपाध्यक्ष दिनेश पाण्डेले स्याङ्जा पुर्ख्यौली थलो र जन्मभूमि भई विश्वभरि छरिएर रहेका सञ्चारकर्मी तथा आमनागरिको सम्बन्धलाई प्रगाढ बनाउँदै स्याङ्जाको विकासमा विश्वलाई नै जोड्ने समाजको उद्देश्य रहेको बताउनु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष शेर बहादुर केसी, अग्रज पत्रकार खिमानन्द भट्टराई, दामोदर खनाल, सुमन अधिकारी, गुनाराम घिमिरे, खेमराज रेग्मी, नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव सी.पी. खनाल, शैक्षिक व्यक्तित्व हरि ज्ञवाली, लेखक युवराज कंडेल, प्रेस चौतारी रुपन्देहीका अध्यक्ष भगवती पाण्डे, प्रगतिशील पत्रकार संघ रुपन्देहीका अध्यक्ष वीरेन्द्र कुँवर, कृषि पत्रकार समाजका अध्यक्ष कृष्ण खनाल, सञ्चारिका समूह रुपन्देहीका महासचिव छाँया पन्त, रेडियो मुक्तिका स्टेशन म्यानेजर कल्पना तिवारीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । समाजका उपाध्यक्ष डिल्लीनारायण पाण्डेको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन सचिव कमला पाण्डे(हरिकला)ले गर्नुभएको थियो ।



