बुटवल । बुटवलको अस्पताल लाईनमा गाडि (सवारी साधन) रोक्न नपाईने भएको छ । बुटवल उपमहानगरपालिकामा सरोकारवालाहरु सहित बसेको बैठकले लुम्बिनी प्रादेशिक अस्पतालदेखि रक्त सञ्चार सेवा केन्द्र (ब्लड बैंक) चोकसम्मको क्षेत्रमा पार्किङ गर्न र गाडी रोक्न नपाउने निर्णय गरेको हो ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको अध्यक्षतामा बसेको बैठकले बुटवल नगरलाई सफा र सुन्दर बनाउन तथा भीडभाड कम गर्दै ट्राफिक व्यवस्थापन गर्न बुटवलका व्यस्त चोक तथा अत्यावश्यक सेवा क्षेत्र आसपासमा भीड कम गर्ने गरी व्यवस्थापन गर्ने निर्णय गरिएको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिए ।
बैठकले बुटवलका मुख्य सडकहरुको पार्किङ व्यवस्थापन गर्ने, राजमार्ग क्षेत्रमा रहेका टिकट काउण्टरहरु एकीकृत गरी बसपार्क भित्रै व्यवस्थापन गर्ने, लामो तथा छोटो दुरीका सवारी साधनले यात्रु चढाउने र ओराल्ने स्थान तय गर्ने जस्ता निर्णय गरेको हो ।
उनले अनुुसार बैठकले बसपार्कभित्र पार्किङ नगरी बस छुट्नु भन्दा १ घण्टा अघिमात्रै बसपार्कभित्र प्रवेश गर्ने, प्रत्येक टिकट काउण्टरले डस्टविन राखी फोहोर व्यवस्थापन गर्ने, बस तथा जीप सञ्चालक संस्थाहरुले सवारी चालक र सहयोगीलाई अनिवार्य रुपमा परिचय पत्रको व्यवस्था गर्नुपर्ने पनि निर्णय गरिएको छ ।



