बुटवल । नेपाल अर्बुद रोग निवारण संस्था रुपन्देहीले प्रमुख जिल्ला अधिकारीलाई सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण गर्न बनेको कानुन कार्यान्वयन गर्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका छन् ।
जिल्ला सभापति खिमबहादुर हमालको नेतृत्वमा गएको नेपाल अर्बुद रोग निवारण संस्था रुपन्देहीको कार्यसमितिले विहिवार जिल्ला प्रशासन कार्यालय भैरहवा गएर प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
क्यान्सर रोगबाट हुनसक्ने ठूलो जन, धनको क्षतिबाट समाज र राष्ट्रलाई जोगाउन सुर्तीजन्य पदार्थको उपयोगलाई न्यूनीकरण सम्बन्धि विध्यमान रहेका सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ लगायत ऐन, कानुनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न, गराउनका लागि ध्यानाकर्षण पत्र बुझाएको जिल्ला सचिव प्रजापाल गिरिले जानकारी दिए ।
विश्वमा देखा परेका प्राणघातक प्रकृतिको रोग मध्ये मृत्युको दोश्रो ठुलो कारण बनेको रोग हो क्यान्सर । वर्तमान समयमा क्यान्सर रोग सम्पुर्ण विश्व र हाम्रो देश नेपालको लागि समेत ठूलो चुनौतीको रुपमा खडा भएको छ । क्यान्सरका कारण आज संसारभर प्रत्येक बर्ष करिब एक करोड मानिसले ज्यान गुमाईरहेका छन् भने नेपालमा बर्षेनी २६ हजार नयाँ क्यान्सर रोगीहरु थपिने गरेको र १५ देखि २० हजार मानिसले मृत्युवरण गर्न बाध्य भएका ध्यानाकर्षण पत्रमा उल्लेख गरेका छन् ।
साथै क्यान्सर रोगको रोकथाम र नियन्त्रणका लागि विश्वभर स्वास्थ्य क्षेत्रमा अनुसन्धान गरिरहेका संस्थाहरुले क्यान्सर हुनुको मुख्य कारण धूम्रपान, मध्यपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्नु हो भन्ने विश्वव्यापी निष्कर्ष पहिचान भैसकेको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
क्यान्सर रोगबाट बच्न हाम्रो देशमा समेत सरकारी पक्षबाट लामो समयको छलफल, प्रयास र पहल पछि सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ लागू भैसकेको तर सरकार र सरकारी निकायको प्रभावकारी कार्यान्वयनको अभावको कारण ऐन, कानुन भएर पनि यसको फितलो कार्यान्वयनका कारण सुर्तीजन्य पदार्थको बिक्री, वितरण र प्रयोगले क्यान्सर रोकथामको मुख्य उद्धेश्य ओझेलमा परेको भन्दै ध्यानाकर्षण गराएका छन् ।



