बुटवल । उच्च शिक्षालाई गुणस्तरीय र प्रभावकारी बनाउन बुटवलमा प्राध्यापकहरूको तीन दिने गोष्ठी हुने भएको छ । नेपाल प्राध्यापक संघ लुम्बिनी प्रदेशले २८ गतेदेखि बुटवलमा प्रदेश स्तरीय गोष्ठी गर्न लागेको हो । गोष्ठीमा तीन वटा कार्यपत्र प्रस्तुत हुने नेपाल प्राध्यापक संघका निर्वतमान केन्द्रीय अध्यक्ष बुद्धबहादुर थापाले जानकारी दिए ।
भद्रगोल उच्च शिक्षालाई कसरी प्रभावकारी बनाउने, सामुदायिक क्याम्पसहरुको अवस्थ, चुनौती र डिजिटल लर्निङको विषयमा विज्ञहरूले फरक फरक कार्यपत्र प्रस्तुत गर्ने थापाले जानकारी दिए । गोष्ठीको लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले उदघाटन गर्ने कार्यक्रम रहेको छ । बुटवलका एभरेष्ट होटलमा हुने गोष्ठीमा प्रदेशभरका सबै क्याम्पसका प्रतिनिधिमूलक २०० प्राध्यापकहरू सहभागी हुने प्राध्यापक डा. अनन्त पन्थीले जानकारी दिए ।
संघले यस्तै कार्यक्रम सात वटै प्रदेशमा गरेको प्राध्यापक यज्ञमूर्ति पाण्डेले जानकारी दिए । बुटवल बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. खिमानन्द न्यौपाने उच्च शिक्षालाई राज्यले प्राथामिकतामा राख्नुपर्ने बताए ।



