बुटवल । नागरिक अगुवा एवम् प्राध्यापक डाक्टर युवराज संग्रौलाले नागरिक बेचेर देश चलाउनु राज्यको गम्भीर अपराध भएको जिकिर गरेका छन् । स्वनिर्भर तथा सामाजिक न्याय अभियान नेपाल द्वारा रुपन्देहीमा आयोजित कार्यक्रम बोल्दै डाक्टर संग्रौलाले राज्य थप असफलता तर्फ गएको जिकिर गर्दै यसबारे गम्भीर हुन नागरिक समाजलाई अपिल समेत गरेका छन् ।
डा. संग्रौलाले राज्यले नितिगत ढंगले स्वनिर्भरको अभियानमा लागेर कार्यनयन नगरे थप अफ्ट्यारो परिस्थिति सिर्जना हुने उनको तर्क थियो । दलहरूले वाद र सिद्धान्तको रटान रटेपनी जनताको जनजीविकामा कुनै परिवर्तन नभएको बताए । कार्यक्रममा समाजशास्त्री खगेन्द्र प्रसाईंले मुलुक आत्मनिर्भर नभएसम्म समाजवाद आउन नसक्ने बताएका थिए । कार्यक्रममा कालिका क्याम्पसका प्रमुख घनश्याम पाठकले समाजवादी मुल्य र मान्यता बोक्ने शक्तिहरु एकजुट हुन नसक्नु मुलुकका लागि दुर्भाग्य भएको बताए ।
कार्यक्रममा बरिस्ठ पत्रकार डा.बालकृष्ण चापागाईं,बरिस्ठ अधिवक्ता तेज प्रसाद कडेल,लुम्बिनी टेलिभिजनका महासचिव दिनेश पाण्डे,जन पत्रकार संगठन नेपालका निर्वतमान केन्द्रीय अध्यक्ष प्रकाश डुम्रे,लुम्बिनी खेलकुद विकास समितिका सचिव प्रकाश भट्टराई लगायतले बोलेका थिए ।
स्वनिर्भर तथा सामाजिक न्याय अभियान नेपालका केन्द्रीय संयोजक डा.शिवशंकर बस्यालले प्रस्तुत गरेको मौखिक कार्यपत्र माथि बोल्ने सबै वक्ताहरुले नागरिकहरु सचेत नभएसम्म राज्य सञ्चालन हरुले मनोमानी गरिरहने भन्दै सचेत हुन अपिल गरेका थिए । रुपन्देही संयोजक दुर्गा पाण्डेले संयोजन गरेको कार्यक्रमको सञ्चालन विजय भट्टराईले गरेका थिए



