बुटवल – एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले ओमानले जितका लागि ३११ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१० रन जोड्यो । एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको यो सर्वाधिक रन हो । यसअघि नेपालले पपुवा न्यूगिनीविरुद्ध २ सय ९७ रन बनाएको थियो ।
नेपालका लागि शतक पूरा गरेका कुशल मल्लले ६४ बलमा १ सय ८ रन बनाए । कुशलले ओमानविरुद्ध ५९ बलमा शतक पूरा गर्दा ९ छक्का र ९ चौका हिर्काए । उनले समग्रमा १० छक्का प्रहार गरे । भिम सार्कीले ३३ रन, आशिफ शेखले २९ रन तथा कप्तान रोहित पौडेलले २३ रनको योगदान गरे । सन्दीप लामिछानेले ८ रन र दिपेन्द्र सिंह ऐरी ७ रन तथा कुशल भुर्तेल र आशिफ शेख शून्य रनमा आउट भए ।
सोमपाल कामीले ६३ रन बनाए । उनको एकदिवसीयमा यो सर्वाधिक रन हो । उनले यसअघि ६१ रन बनाएका थिए । करण केसीले २९ रन जोडे । ओमानका लागि आयान खानले २ तथा जतिन्दर सिंह, अकिब इलयास, फयाज बट्ट, जिशन मक्सुद र कलिमुल्लाहले एक–एक विकेट हात पारे ।



