बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष अजयमान श्रेष्ठले अस्पताललाई नेपालकै अग्रणी र एक नम्बर बनाउने गरी आफूले कामगर्ने प्रतिवद्धता जनाउनु भएको छ । आइतबार अस्पतालमा आयोजित पद वहाली कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले आफू बुटवलको छोरो भएकाले अस्पतालको सेवा गुणस्तरीय र प्रभावकारी बनाउननिस्वार्थ भावनाले कामगर्ने बताउनु भयो ।
उहाँले आफूले उद्योग, व्यवसाय र सामाजिक क्षेत्रमा हासिल गरेको ज्ञान र अनुभव संगै विज्ञहरुसंग राय सुझाव लिएर अस्पताललाई नमूना बनाउने गरी कामगर्ने बताउनु भयो । ‘मलाई कुनै लाभलिनु छैन, म प्रशासन चलाउन आएको पनि हैन’–अध्यक्ष श्रेष्ठले भन्नुभयो –‘म अस्पताल प्रशासनलाई सहयोग गर्न, यहांका समस्या समाधान र वजेटका लागिप्रदेश र केन्द्र सरकारसंग डटेर कुरा राख्न आएको हुं ।’
अस्पतालमा विरामीको अत्यधीक चाप रहेकाले त्यसलाई थेग्न १२ सय शैयाको प्रस्तावित नयां भवनको ठेक्का प्रकृया अघि बढाउने पनि अध्यक्ष श्रेष्ठले प्रतिवद्धता जनाउनु भयो । प्रदेश सरकारको गौरवको आयोजनामा परेको अस्पतालको नयां भवनको ठेक्काप्रक्रियालाई कानुनीहिसाबले अप्ठेरो नपर्ने गरी अघि बढाउने श्रेष्ठले प्रतिवद्धता जनाउनु भएको हो ।
‘ठेक्का रद्द गरेर वाकानुनी हिसाबले टुंगो लगाएर ठेक्का अघि बढाइन्छ’–अध्यक्ष श्रेष्ठले भन्नुभयो–‘सरकारी अस्पतालप्रति नागरिकको विश्वास बढाउन र गुणस्तरीय सेवादिननयां भवनको विकल्प छैन ।’ अस्पतालका डाक्टर र स्वास्थ्यकर्मीलाई नागरिकले दोस्रो भगवानका रुपमालिने भएकाले आफ्नो जिम्मेवारी नभुलेर मुस्कान सहितको सेवा दिन अध्यक्ष श्रेष्ठले आग्रह गर्नु भयो ।
आफूले शुरुमा सय दिने, ६ महिने र एक वर्षे योजना बनाएर काम गर्दै भविष्यमा नेपालकै नमूना र अग्रणी अस्पताल बनाउने गरी कामगर्ने अध्यक्ष श्रेष्ठले बताउनु भयो । बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले अस्पताल प्रशासन र कर्मचारी बीच समन्वय र तालमेल गरेर अघि बढ्न सुझावदिंदै स्वास्थ्यकर्मीहरुले विरामीमैत्री राम्रो व्यवहार गर्न आग्रह गर्नुभयो ।
प्रादेशिक अस्पतालमा बढ्दो विरामीको चाप घटाउन उपमहानगरले वडाहरुमा १५ शैयाका अस्पताल बनाउन शुरु गरिसकेको उहाँले बताउनुभयो । अस्पतालका पुर्व अध्यक्ष बाबुराम भट्टराईले १२ सय शैयाको अस्पताल भवन ठेक्कामा डेढ अर्ब रुपैयां तलमाथि गर्न खोजिएकाले ठेक्का विवादित र अलपत्र परेको भन्दै अब कानुनी प्रकृया मिलाएर अघि बढाउनुपर्ने सुझाब दिनुभयो ।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. सुदर्शन थापाले लामो समय सम्म अध्यक्ष नियुक्ति नहुंदा अस्पताल अभिभावकविहीन बनेको गुनासो गर्दै अब राजनीतिभन्दा माथि उठेर कामगर्ने सक्षम नेतृत्व पाएको बताउनुभयो । सो अवसरमा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल प्रसाद कसजू, डाक्टर श्रीधर आचार्य,नर्सिङ प्रमुख ज्योति पौडेल लगायतले अस्पतालले सक्षम अध्यक्ष पाएको भन्दै अस्पतालको सेवामा छिटै परिवर्तनको अनुभूतिहुने विश्वास व्यक्त गर्नु भएको थियो ।



