भुपराज पाठक / बुटवल । व्यापारिक तथा निजि प्रयोजनका लागी गुड्ने सवारी साधनको तेश्रो पक्ष दायीत्व बीमा नेपालमा अनिवार्य छ । सवारी धनीले आफ्नो सवारी साधनको हानी नोक्सानीबाट जोखिम कम गर्नका लागि व्यापक बिमालेख जारी गर्न गरेको पाइन्छ । मोटर बिमा अन्र्तगत –मोटरसाईकल , प्राईभेटकार ,व्यवसायीक सवारी साधन बस ,ट्रक ,टिप्पर ,मोपेड,ट्याम्पो , ई रिक्सा जिप लगायत बिभिन्न किसिमका सडकमा चल्ने सवारी साधनको बिमाकम्पनीले बिमालेख जारी गर्ने गरेको पाईन्छ । सवारी नविकरण गर्दा वा किनबेच गर्दा मोटर बीमालेख अनिवार्य पेश गर्नुपर्छ । अन्यथा यातायात व्यवस्था विभागले निवेदन अस्वीकृत गरिदिन्छ ।
सवारी साधनलाई पार्किङमा राखेका बेला, सडकमा गुडाउँदै गर्दा वा अन्य कुनै अवस्थामा अप्रत्याशित दुर्घटनाबाट हुने आर्थिक नोक्सानीबाट जोगाउनका लागी सवारीधनीले मोटर बीमाको सुविधा रोज्छन् । दुर्घटनाबाट क्षतिग्रस्त गाडीको क्षतिपूर्तिको लागि बीमितले बीमादाबी पेश गर्दा, बीमकबाट स्वाभाविक रूपमा छिटोछरितो दाबी भुक्तानीको अपेक्षा गरेको हुन्छ । बीमा दाबी भुक्तानीमा ढिला सुस्ती भयो वा दाबी नै नलाग्ने जानकारी पायो भने बीमितमा नैराश्यता आउँछ । त्यसैले सवारीधनीले मोटर बीमा गर्ने समयमानै कस्तो अवस्थामा बीमादाबी लाग्छ र कति रकम भन्दा माथिको मात्र बीमा दाबी गर्न पाइन्छ भन्ने विषयमा चासो राखेर बीमा कम्पनी वा तिनको अभिकर्ताबाट जानकारी लिनुपर्छ ।
कस्तो अवस्थामा बीमकले दाबी भुक्तानी दिंदैन भन्ने बारे स्पष्ट बुझि राख्नुपर्छ ।
१ सवारी चालक अनुमतिपत्र र मादकपदार्थ सेवनगरि सवारी साधन चलाउदा : मादकपदार्थ सेवन गरी सवारी चलाउनु र वैध ड्राइभिङ इजाजतपत्र नलिई सवारी चलाउनु मोटर बीमा दाबी खारेज हुनुका दुई मुख्यकारण हुन्। कानुनी प्रतिबन्धका कारण बीमाकर्ताहरूले दावीहरू तिर्न सक्दैनन्।
२ समयमै बीमालेख नविकरण नगर्दा : यो नीतिअवधि समाप्त हुनु अघि नवीकरण गर्नुपर्छ । सवारि साधनको बिलबुक पनि नबिकरण हुनुपर्दछ । अन्यथा यस्तो अवस्थामा बीमा कर्ताले दाबी अस्वीकार गर्नेछ ।
३ दुर्घटनाबारे जानकारी दिन ढिलासुस्ती : बीमितले सवारी साधन दुर्घटना भएको अवस्थामा बीमादाबीको बारेमा जतिसक्दो चाँडो बीमा जानकारी गराओस् भन्ने बीमकको अपेक्षा हुन्छ । बीमितले तोकिएको अवधिभित्र बीमा कम्पनीलाई बीमा दाबीबारे जानकारी दिन ढिलई गरेको अवस्थामा बीमकले म्याद गुज्रिएपछि दाबी गरिएको भन्दै दाबी खारेज गरिदिन सक्छ ।
४ अपर्याप्त कागज प्रमाण : सवारी दुर्घटनाका कारण भएको क्षतिबारे पुष्टी गर्न सक्ने कागज प्रमाणहरु उदाहरणका लागी ट्राफिक प्रहरीको सिफारिश, नजिकको प्रहरी चौकीको घटना सम्बन्धी प्रतिवेदन, घाइते भएको भए अस्पतालमा उपचार गरेको कागजात र मृत्यु भएको भए पोष्टमार्टम र प्रहरी प्रतिवेदन पेश गर्नुपर्छ । दुर्घटनामा सवारीसाधनमा आगजनी भएको भए सोको पुष्टी गर्ने भिडियो, तस्वीर, सवारीमा क्षतिपुगेको भए क्षतिग्रस्त सवारी मर्मतका लागी ग्यारेज कोटेशन, बिल बिजक लगायतको पेस गरिएको बिजक नबिकरण भएको हुनुपर्ने र प्रमाण समयमै पेश नगरेको अवस्थामा पनि बीमादाबी अस्वीकृत हुनसक्छ । सवारीसाधन दुर्घटनामा क्षतिग्रस्त भएको अवस्थामा मर्मतको लागि ग्यारेजमा पठाउनु अघि क्षतिग्रस्त सवारी साधनको दर्ता नम्बर समेत देखिने गरी विभिन्न कोणबाट तस्वीर खिंचेर बीमकको दाबी विभागमा इमेल, भाइबर वा अन्यकुनै माध्यमबाट उपलब्ध गराउनुपर्छ ।
५ भौगोलिक सीमा बाहिर सवारि साधन चलाउँदा : बीमालेखमा तोकिएको भौगोलिक सीमा भन्दा बाहिर सवारी चलाउँदा सवारी साधनमा भएको दुर्घटनाबाट उत्पन्न हुने क्षतिपूर्तिको दाबी खारेज हुन्छ । नेपालमा बीमा गरिएको सवारी साधन नेपालबाहेक भारत, बंगलादेश वा भुटानमा गुडाउँदा समेत जोखिमबहन हुन्छ । यी बाहेकका मुलुकमा गुडाउँदा हुने दुर्घटनाको क्षतिपूर्ती मोटर बीमालेखले बहनगर्दैन ।
६ निरन्तर प्रयोगमा हुने सामान्य नोक्सानी हुनु : कारको रङ्ग खुइलिनु वा उप्किनु, पाङ्ग्राहरू खिइनु बिग्रनु सवारि साधनको मोबिल ,पेट्रोल ,डिजल जस्ता सामान्य क्षतिहरू निरन्तर प्रयोगका कारण हुन्छन् । यी सबै सामान्य क्षतिहरू मोटर व्यापक बीमाले समेत बहनगर्दैन । बीमादाबी दुर्घटनाको कारणबाट हुने क्षतिको विरुद्धमा मात्र भुक्तानी गरिन्छ । तर पछिल्लो समयमा विद्युतीय सवारी साधनको बीमालेखले ब्याट्री बिग्रिएको अवस्थामा पनि बीमालेख अन्तर्गतको दाबी भुक्तानी गर्ने सुविधा दिएको छ ।
७ सवारी नियमको उल्लङ्घन : सवारी साधनको बीमागर्दा यसको प्रयोग अनुसार यसको बीमाशु्ल्क निर्धारण गरिन्छ । उदाहरणका लागि, निजी वाहनबीमा, व्यवसायीक वाहनबीमा। निजी प्रयोजनको मोटर गाडीको तुलनामा व्यवसायीक प्रयोजनको मोटर गाडीको जोखिम बढी हुने भएकाले यसको लागी बीमा शुल्क पनि तुलनात्मक रूपमा महँगो हुन्छ । यसैगरी एक किसिमको प्रयोजनमा रहने भनेर बीमा गरिएको वाहन अर्काे प्रयोजनको लागी प्रयोग गरेको अवस्थामा पनि बीमादाबी अस्वीकृत हुन्छ ।
निष्कर्ष : मोटर बीमाको लागिदाबी अस्वीकृत हुन नदिने सबैभन्दा सजिलो उपाय भनेकै बीमा लेखमा उल्लेख गरिएका सबै शर्तहरू पूर्णत पालना गर्नुहो । ( लेखक सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेड मणिग्राम शाखामा कार्यरत हुनुहुन्छ )



