बुटवल । बुटवल उपमहानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक समीक्षा गरेको छ । बुटवल उपमहानगरले चालु आर्थिक वर्षको तीन महिनामा १० दशमलव ४९ प्रतिशत बजेट खर्च गरेको छ। गत आर्थिक वर्षको यो अवधिमा ८ दशमलव ४ प्रतिशत खर्च भएको थियो।चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बुटवल उपमहानगरपालिकाले १८ करोड राजस्व संकलन गरेको छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाइँले बुटवल उपमहानगरपालिकाले वार्षिक कार्ययोजना बनाएर योजनाबद्ध तरिकाले काम गरेको बताउँदै यसले विकास निर्माण र सुशासनमा टेवा पुग्ने बताउनुभयो । उहाँले गत आर्थिक वर्षभन्दा धेरै विकास बजेट खर्च गर्न र देशमै उत्कृष्ट नगरको रुपमा अगाडि बढ्न शुभकामना दिनुभयो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख खेलराज पाण्डेयले बुटवलले चालु आर्थिक वर्षमा उज्यालो बुटवल, सफा बुटवल, शिक्षा र स्वास्थ्यमा अग्रणी बुटवल बनाउने गरी योजना बनाएर कार्यान्वयनमा गएको बताउनुभयो ।
उहाँले चालु आर्थिक वर्षमा लगानी सम्मेलन गरी लगानीकर्ता आकर्षित गर्ने, गृहणी महिला रोजगार कार्यक्रममार्फत महिलाहरुलाई उत्पादन र रोजगारसँग जोड्ने, पछाडि परेका विद्यालयहरुको स्तरोन्नतिका लागि कार्यक्रम गर्नेजस्ता काम अगाडि बढेको बताउनुभयो ।
उपप्रमुख सावित्रादेवी अर्यालले बुटवललाई समृद्ध शहरका रुपमा स्थापित गर्नका लागि योजनाअनुसार काम भइरहको बताउनुभयो । उहाँले सबै क्षेत्रलाई समेटेर नगरले काम गरिरहेको र यसमा सबैको साथ आवश्यक रहने बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसालले बुटवललाई योजनाबद्ध विकासका लागि कार्ययोजनाबमोजिम सबै कामहरु अगाडि बढेको बताउनुभयो । उहाँले चालु आर्थिक वर्षमा राजस्व संकलनलाई अझै धेरै बढाउने गरी काम भइरहेको बताउनुभयो ।
योजना शाखा प्रमुख दामोदर ज्ञवालीले प्रगति विवरण प्रस्तुत गर्दै कार्यक्रममा बितेको तीन महिनामा बुटवलले पशु बधशालाको सञ्चालनका लागि सम्झौता गरेको, मुख्य सडक र भित्री सडकहरु सरसफाइ तथा हरियाली बनाउन वृक्षरोपण गरेको, उज्यालो बुटवल अन्तरगत उज्यालो बनाउन बिद्युतीकरण गरिएको, खाली सटरहरु ठेक्कामा लगाएको, बसपार्क सुधार अभियान सञ्चालन गरिएको बताउनुभयो ।
सरसफाइ शाखा प्रमुख ठगिश्वर पोखरेलले बुटवलबासीका प्रतिक्रिया लिने गरी सार्वजनिक सुनुवाई गर्ने तयारी भएको बताउनुभयो ।



