प्रविण गाहा / गुल्मी । गुल्मीको गुल्मीदरबार गाउंपालिकाले पालिकाको सेवा वडामै पुगेर दिएको छ । सात वडामा पालिकाद्वारा प्रवाह हुने सेवा लिएर नागरिकको घरदैलोमा पुगेको हो ।
मंसिर २४ गते देखि सुरु भएको एकीकृत घुम्ती सेवा बुधवार सकिएको हो । एकीकृत घुम्ती सेवामा योजना सम्झौता, बैंक संगको समन्वयमा उपभोक्ता समितिको खाता खोल्ने, व्यवसाय दर्ता तथा नविकरण, जेष्ठ नागरिक परिचय पत्र वितरण, निःशुल्क स्वास्थ्य परीक्षण र औषधी वितरण, माटो परीक्षण, पशुपंक्षी सम्बन्धी परामर्श तथा औषधी वितरण र अपाङ्ग परिचय पत्र वितरण गरेको छ ।
२०७७ साल पुसबाट सुरु गरिएको घुम्ती सेवामा यस अघि व्यवसाय नविकरण, दर्ता र योजना सम्झौता गरिएकोमा गत वर्ष देखि सेवा थप भएकोमा यो वर्ष उपभोक्ता समितिको खाता खोल्ने र अपाङ्ग परिचय पत्र समेत वितरण गरिएको हो ।
योजना सम्झौता गर्दा आवश्यक कागजात जुटाउन समस्या परेको गुनासोको आधारमा वडामै गएर योजना सम्झौता गरिएको पालिकाका अध्यक्ष सरोज थापाले जानकारी गराउनुभयो ।
सात वटा वडामा एक सय ४९ योजनाको सम्झौता भएको छ । चैत मसान्त भित्र योजना पुरा गर्ने गरी सम्झौता गरिएको पालिकाका उपाध्यक्ष तारा थापा ढंगाले जानकारी गराउनुभयो । उपभोक्ता समितिका पदाधिकारीलाई योजना सम्बन्धी माइन्युट बुक भर्ने तरिका, समिति गठन, संचालन, काम कर्तव्य र अधिकार, अनुगमन निरीक्षण तथा मुल्यांकन, समितिले पालना गर्नुपर्ने कानुनी प्राबधान योजनाको लागत अनुमान र मुल्यांकन कसरी गर्ने र रकम भुक्तानीको वारेमा जानकारी गराइएको थियो ।
त्यस्तै कृषकको उत्पादन वृद्धि गर्न माटो परीक्षण गरिएको छ । सात वटा वडामा ७१ जना कृषकले माटो परीक्षण गराएका थिए । पशुपन्छीलाई विभिन्न रोग विरुद्ध दिईने औषधि तथा परामर्श सात सय ५१ जनाले लिएका थिए । तीन सय २९ जनालाई जेष्ठ नागरिक, २१ जनालाई अपाङ्ग परिचयपत्र वितरण गरिएको छ । मेडिकल अधिकृत पुजा पन्थ सहितको टोलीले छ सय ६० जनाको स्वास्थ्य परीक्षण संगै औषधीवितरण गरिएको थियो । नयां व्यवसाय दर्ता र नविकरण गरी हुदा दुई सय ३३ जनालाई सेवा दिइएको छ ।
घरदैलोमै सामाजिक सुरक्षा भक्ता
गुल्मीको गुल्मीदरवार गाउंपालिकाले जेष्ठ नागरिकको घरमै गएर स्वास्थ्य स्वास्थ्य परीक्षण तथा सामाजिक सुरक्षा भक्ता घरदैलौमा पु¥याउदै आएको पालिकाका अध्यक्ष थापाले जानकारी दिनुभयो । वडा नम्बर पांचमा शाईन रेसुङ्गा बैंकको समन्वयमा घरमै पुगेर सामाजिक सुरक्षा भक्ता प्रदान गरिएको अध्यक्ष थापाको भनाई छ । अन्य वडामा पनि पालिकाले टोल टोलबाट सुरक्षा भक्ता बुझ््ने व्यवस्था गरेको छ । अध्यक्ष थापाले पालिका भित्रका करिव ८० प्रतिशत उपभोक्ताको न्युनतम विद्युत महसुल भुक्तानी गर्ने गरिएको जानकारी गराउनुभयो ।
पालिकाकै सबै वडाका जेष्ठ नागरिकलाई घरमै पुगेर समय समयमा स्वास्थ्य परीक्षण गर्ने गरिएको पालिकाका उपाध्यक्ष ढेंगाले बताउनुभयो । गुल्मीदरवारमा पालिकाभित्रको स्वास्थ्य संस्थामा गर्भवतीलाई बच्चा जन्माउन अप्ठ्यारो परेमा निःशुल्क एम्बुलेन्सको समेत व्यवस्था छ । गत वर्ष गाउं कार्यपालिकाको पहिलो बैठकले गाउंपालिकाका स्वास्थ्य संस्थाबाट प्रशुती लिने क्रममा रिफर गर्नुपरेमा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरेको थियो । तम्घास मात्र नभएर आवश्यकताको आधारमा जिल्ला बाहिर समेत निःशुल्क एम्बुलेन्स सेवाको घोषणा गरेको थियो ।
निःशुल्क सेवा लिनको लागि गुल्मीदरबार गाउंपालिका भित्रको नागरिक हुनुपर्ने शर्त रहेको छ । पालिकाको एम्बुलेन्सबाट मात्र नभएर आवश्यकताको आधारमा अन्य एम्बुलेन्सबाट सेवा लिई नागरिकता र रसिदको आधारमा भुक्तानी दिइने व्यवस्था गरिएको छ । गुल्मीदरवारका निमित्त प्रमुख प्रशासकिय अधिकृत एवं स्वास्थ्य शाखा प्रमुख नारायण अर्यालका अनुसार निःशुल्क एम्बुलेन्स सेवा लिनेको संख्या ५१ जना रहेका छन् । चालु आर्थिक वर्षमा दुई सय ५१ जना जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको छ ।
गुल्मीदरबार गाउंपालिका नेपालमै पहिलो पोषणमैत्री स्वास्थ्य संस्थायुक्त पालिका समेत हो । विभिन्न १६ वटा सुचक पुरा गरि पालिकालाई केही महिना अघि पोषणमैत्री स्वास्थ्य संस्थायुक्त पालिका घोषणा गरिएको थियो । २३ महिना सम्म बच्चाको तौल अनुगमन, नियमित गर्भजांच, स्वास्थ्य संस्थामा प्रशुती, ६ महिना सम्म पुर्ण स्तनपान र ६ महिनापछी थप आहार, स्वास्थ्य संस्थामा खानेपानी, सरसफाई, स्वास्थ्य संस्थामा पोषण सम्बन्धी तालिम लिएका जनशक्तिको आधारमा गुल्मीदरबार पोषणमैत्री स्वास्थ्य संस्थायुक्त पालिका बनेको निमित्त प्रमुख प्रशासकिय अधिकृत एवं स्वास्थ्य शाखा प्रमुख अर्यालको भनाई छ ।
तीन वर्षको प्रयासमा पालिकालाई पोषणमैत्री बनाउन सफल भएका हौं अर्यालले भन्नुभयो । दुई वर्ष पहिले बलिथुम स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको थियो । सात वडा मध्य बलिथुम, जुभूङ, बिरवास र दरवार देविस्थामा बर्थिङ सेन्टर रहेको छ । दरवार देविस्थानमा ल्याब सेवा समेत उपलब्ध छ । गौडाकोट स्वास्थ्य चौकीमा बच्चाको बहिरंग सेवा रहेको छ । मेडिकल अधिकृत पन्थले दरवारदेविस्थान स्वास्थ्य चौकीबाट र अन्य वडामा समेत तालिका मिलाएर स्वास्थ्य सेवा दिने पालिकाका अध्यक्ष थापाको भनाई छ ।
वडामै भिडियो एक्सरे सेवा
पालिकाले बिरवास स्वास्थ्य चौकीमा नियमित गर्भवती महिलाको स्वास्थ्य जांच गर्ने व्यवस्था मिलाएको छ । गत वर्षको असारबाट भिडियो एक्सरे सेवा सुरुवात भएको हो । अन्य वडामा महिनाको एक पटक भिडियो एक्सरे सुविधा दिदै आएको छ । पहिलो आईतबार बलिथुम, दोस्रोमा जुभूङ, तेस्रोमा गौडाकोट र चौथोमा दरवार देविस्थामा भिडियो एक्सरे सेवा उपलब्ध हुने गरेको छ ।
हाल सम्म एक सय ७५ जनाले ग्रामीण अल्ट्रासाउण्ड सेवा लिएका छन् । दरबार देविस्थानमा किशोर किशोरी मैत्री क्लिनिक रहेको छ । क्लिनिकमा किशोर अवस्थामा हुने शारीरिक, मानसिक परिवर्तनको वारेमा परामर्श दिने गरिएको छ । हरेक महिनाको २५ गते विद्यालयमा साथी शिक्षकले यस वारेमा आफना साथीलाई जानकारी गराउने गरेका छन् ।
हरेक विद्यालयमा कक्षा ८ मा अध्ययन गर्ने दुई जना विद्यार्थीलाई तालिम दिएर साथी शिक्षक बनाइएको छ । त्यस्तै हरेक महिनाको २८ गते तौल अनुगमन दिवस समेत मनाइने गरिएको छ । २३ महिना सम्मका बच्चाको तौल गरी हरेकलाई दुई वटा अण्डा समेत वितरण गर्ने गरिएको छ ।



