काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा पनि जित हासिल गर्दै नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । नेपालले कतारलाई कीर्तिपुर मैदानमा ६८ रनले हरायो । नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै लज्जास्पद प्रदर्शन गर्यो । नेपालले ४०.३ ओभरमा सबै विकेट गुमाएर १५७ रनमात्र बनाउन सक्यो । १११ रन जोड्दा ९ विकेट गुमाइसकेको नेपालका लागि स्पिन बलर सन्दीप लामिछानेले सर्वाधिक ४२ रन बनाए । उनले ५८ बलमा ६ चौकाको मद्धतले उक्त योगफल बनाएका हुन् ।
सन्दीपको यो एक दिवसीय क्रिकेटको सबैभन्दा ठूलो योगफल हो । दशौं विकेटका लागि सबैभन्दा ठूलो साझेदारी भएको थियो । सन्दीप र ललितनारायण राजवंशीबीच ४६ रनको साझेदारी भएको थियो । ललितले १७ बलको सामना गर्दै मात्र १ रन बनाएका थिए । कप्तान रोहित पौडेलले २७ तथा आसिफ शेखले १९ रन बनाए । अमिर फारुकले ४ तथा ओवाइस अहमदले ३ विकेट लिए ।
नेपालले यही खेलमा कीर्तिमान बनाउन सक्ने थियो । समूहको कमजोर टिमविरुद्ध उच्च योगफल बनाउन सक्थ्यो । तर नेपालले त जारी प्रतियोगितामै सबैभन्दा कमजोर ब्याटिङ गर्यो । नेपालले कमजोर ब्याटिङ गरेको भए पनि बलिङ भने सशक्त गर्यो । सोही कारण कतारले २५.१ ओभरमा सबै विकेट गुमाएर मात्र ८९ रन बनाउन सक्यो ।
जहीर अब्राहिम र खुराम शहजादले समान १५–१५ रन बनाएको इनिङ्समा नेपालका लागि अलराउण्ड प्रदर्शन गरेका सन्दीपले ९.१ ओभरमा ३ मेडन राख्दै १४ रन खर्चेर सर्वाधिक ५ विकेट लिए । त्यस्तै सोमपाल कामीले ३ तथा ललितनारायण राजवंशीले २ विकेट लिए । समूह ए बाट नेपाल ४ खेलमा ३ मा जित र एकमा बराबरीसहित ७ अंकबाट शीर्ष स्थानमा रहँदै समूह विजेता बन्दै सेमिफाइनलमा पुग्यो भने ओमान ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ उपविजेता बन्दै सेमिफाइनलमा पुग्यो ।
१० राष्ट्र सहभागी प्रतियोगितामा पाँच पाँच राष्ट्रको दुई समूह रहेको छ । हरेक समहका दुई राष्ट्रले शनिबार हुने सेमिफाइनल खेल्नेछन् । आजको अर्को खेलमा हङकङ र कुवेत भिडिरहेका छन् । विजेता सेमिफाइनलमा पुग्नेछ । ६ अंकका साथ यूएई सेमिफाइनलमा पुगिसकेको छ । ५ अंकको हङकङ र ४ अंकको कुवेतको विजेता सेमिफाइनलमा पुग्ने भएको हो ।



