बुटवल । एमाले उपाध्यक्ष, पुर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारमा बस्ने तर जिम्मेवारी नलिने प्रवृत्ति देखा परेको आरोप लगाउनु भएको छ । रुपन्देही व्यापार संघको आयोजनामा बिहीबारदेखि बुटवलमा सुरु भएको लुम्बिनी एक्स्पो–२०८०, अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन गर्दै उहाँले मुलुकमा देखिएको विद्यमान संकटको जिम्मेवारी सरकारले लिनुपर्ने बताउनु भयो । सरकारमा पनि बस्ने, तर अरुलाई दोष दिएर जिम्मेवारीबाट उम्किन नमिल्ने उहाँको भनाई छ ।
“राष्ट्रिय संकटको जिम्मेवारी संघीय सरकारले, प्रदेशमा देखिएको संकटकोे जिम्मेवार प्रदेश सरकारले र स्थानीय तहमा देखिएका समस्याहरुको जिम्मेवारी स्थानीय सरकारले लिनुपर्छ”–पौडेलले भन्नुभयोे, “सरकारमा पनि बस्ने, तर अरुलाई दोष दिएर जिम्मेवारीबाट उम्किन मिल्दैन ।” उहाँले अहिले मुलुकमा संकट निम्तिनुको प्रमुख जिम्मेवारी सरकार भएको पनि बताउनु भएको छ ।
उहाँले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा भैरहेको ढिलाईप्रति गम्भीर आपत्ति प्रकट गरे । बनेको विमानस्थल चलाउन नसक्ने सरकारले अरु केही गर्न नसक्ने भन्दै उहाँले सरकार पूर्णरुपमा असफल भएको टिप्पणी गर्नुभएको छ । बुटवल–नारायणगढ सडक निर्माणमा भैरहेको ढिलाईप्रति आपत्ति प्रकट गर्दै उहाँले सरकारले सडक निर्माणलाई तदारुकता नदेखाएर तमासा देखाइरहेको आरोप लगाउनुभ्यो ।
पौडेलले लुम्बिनी प्रादेशिक अस्पतालको स्तरोन्नतीका लागि तत्काल टेण्डर आह्वान गर्न आग्रह गर्नुभयो । प्रादेशिक अस्पतालको टेण्डर आह्वान प्रक्रियामा भैरहेको ढिलाईप्रति पनि उहाँले आपत्ति जनाउनु भयो । मुलुकको पुँजीगत खर्च लथालिङ्ग भएको, राष्ट्रिय गौरवका आयोजनाहरु अगाडि बढ्न नसकेको पौडेलले आरोप लगाउनुभयो ।
तिनाउ–दानव कोरिडोर सडक निर्माणका लागि छुट्याइएको बजेट पनि वर्तमान सरकारले कटौती गरेको भन्दै उहाँले सुशासन, विकास, राजश्व परिचाललगायत कुनै पनि दृष्टिकोणले सरकारले राम्रो काम गर्न नसकेको बताउनुभयो ।
लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री लिला गिरीले सरकारमा रहेका दलहरु सत्ता टिकाउनेमा मात्र केन्द्रित रहेको बताउनुभयो ।
बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले सफासुग्घर, हरियाली र उज्यालो बुटवल बनाउने कुरामा नगरपालिका अगाडि बढिरहेको बताउनुभयो । उहाँले बुटवल आउने संघ र प्रदेशका सांसदहरुलाई विकासको मोडल बारे उपमहानगर आएर छलफल गर्न आह्वान गर्नुभयो । बुटवलको बारेमा संयुक्त आवाज बनाएर अगाडि बढ्न उहाँले आह्वान गर्नुभयो ।
कार्यक्रममा मेला आयोजक मूल समितिका संयोजक एवं संघका अध्यक्ष कृष्णप्रसाद घिमिरे, उपाध्यक्ष डिल्लीप्रसाद भण्डारी, महासचिव दयानिधी भण्डारी लगायतले निजी क्षेत्र अहिले ठूलो संकटबाट गुज्रिरहेको भन्दै लुम्बिनी एक्स्पोले आर्थिक क्षेत्र चलायमान गराउन महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्नु भयो ।
मेलामा १० लाख बढी दर्शक अवलोकन गर्न आउने आयोजकले अपेक्षा गरेको छ । मेला उदघाटन अघि बिभिन्न झाँकीहरुले बुटवल नगर परिक्रमा गर्दै मेला स्थल प्रवेश गरेको थियो ।



