बुटवल । सरकारविरुद्ध बुटवलमा विरोध प्रदर्शन गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देहीले पेलेकार्ड सहित विरोध प्रदर्शन गरेको हो ।
सरकार सकिन्छ रोजगारी दे, नसके शान्तिपूर्ण वातावरणमा बस्न दे’ ,नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी उम्काउने ? ललिता निवास काण्डमा दोषी उम्काउने ,सुन काण्डमा तस्करहरू रोजी रोजी जोगाउने ? एनसेल प्रकरणमा मिलेमतो गरी राज्यलाई ठग्ने ? , टेराम्याक्स घोटालामा संलग्नलाई कारबाही नगर्ने ? ,वाइडवडी खरिद काण्ड, यती काण्ड, ओम्नी काण्ड, गिरि बन्धु काण्डका फाइल थन्क्याउने ?, नारायणघाट –बुटवल, मुग्लिन– पोखरा लगायतका सडकहरू वर्षौँ अलपत्र पारि जनतालाई धुलोमा डुबाउने ?, प्रधानमन्त्री र मन्त्री भने करोडौँ खर्चमा जहाजमा विदेश, हेलिकप्टरमा स्वदेश सयर गर्ने ? जस्ता नारा लेखिएका पेलेकार्ड सहीत प्रर्दशन गरिएको रुपन्देही क्षेत्र नम्बर २ का सभापति रमेश लम्सालले जानकारी दिनुभयो ।
सो अवसरमा रास्वपा केन्द्रिय सदस्य कुसुम महर्जन, केन्द्रिय संगठन विभाग सदस्य गणेश पौडेल , रुपन्देही जिल्ला संयोजक डा.बुद्धि प्रसाद शर्मा, क्षेत्र नम्बर २ सभापति रमेश लम्साल, नगर सभापति राजन पाण्डे लगायतले सम्वोधन गर्दै यो देशको दुर्गति बनाउनेहरूको अब भण्डाफोर गर्दै जाने बताउनु भयो ।
आजबाट देशभर रास्वपाले विरोध कार्यक्रमहरू सुरु गरेको छ भन्दै पुतला जलाएर होइन, पुतला सजाएर प्रश्न गर्ने भनाई उहाँहरुको थियो । साथैैे रास्वपा अब रोकिँदैन ,अन्तिम सम्म लडाई लड्छौं ,युवाहरूलाई रोजगार दिनुको साटो सरकारले विदेशमा गएर काम गर्ने वातावरण युवाहरूलाई दिन नसक्नु दुर्भाग्यपूर्ण भएको उनिहरुको दावि थियो ।



