बुटवल । लुम्बिनी एक्स्पो, २०८० प्रदर्शनी केन्द्र बुटवल मण्डपमा जारी छ । पुस ५ गतेबाट सुरु भएको मेलामा कृषि तर्फको लागि छुट्टै प्याभिलियन व्यवस्था गरिएको छ । रूपन्देही व्यापार संघले आयोजना गरेको यो प्रदर्शनीको कृषि प्याभिलियनको सुरुवाती स्थानमा प्रदेशको कृषि विकास निर्देशनालय अन्र्तगत बालि ,पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयको विवरण, त्यहाँबाट उत्पादित विभिन्न पुस्तक तथा सामग्रीहरू, उत्पादित भिडियो डकुमेन्ट्री समेत प्रसारण गरिएको छ ।
कृषि विकास निर्देशनालयको पनि स्टल छ । कृषि अधिकृतस्तरका एक जना कर्मचारी र कार्यालय सहयोग गरी २ जना स्टलमा बसेका हुन्छन । किसानले केही कुराको जिज्ञासा राखेमा अधिकृतस्तरका कर्मचारीहरूले विषय बस्तुबारेको ज्ञान प्रदान गर्दछन् भने जुन विषयमा किसानले जिज्ञासा राखेका हुन त्यो कार्यालय, विषय विज्ञको फोन नम्बर समेत उपलब्ध गराउँछन् ।
मेलामा जिल्लागत रूपमा उत्पादन गरिएका सामग्रीहरूको प्रर्शनी, विक्री कक्ष स्थापना गरिएको छ । यसकै सबै चाँजोपाँजो प्रदेशको कृषि मन्त्रालयले गरेको हो । तराईंको उत्पादन देखि पुर्वी रुकुम हिमाली जिल्ला सम्मको उत्पादनको विक्रि कक्ष सहित प्रदर्शनी पनि गरिएको कृषि विकास निर्देशनालय बुटवलका प्रमुख राम प्रसाद पाण्डेले बताउनुभयो ।
प्रदेशको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयले प्रदेशका मातहतका कार्यालयबाट पनि आ–आफ्ना कार्यालयको कार्यगत जानकारी सहितको डेमो समेत प्रदर्शन गरेको छ ।
कुखुरा विकास फार्म बाट उन्नत जातको कुखुराको समेत त्यहाँ प्रदर्शनी गरिएको हो । कृषितर्फ बाली विशेष तर्फ पाल्पाको सुन्तलादेखि गुल्मीको सुन्तला, जुनार, किबी समेत बिक्रीको लागि राखीएको हो । जहाँ किसानले उत्पादन गरेको आफ्नो बारीको सुन्तला, जुनार, किबीको बिक्रीसंगै खेती प्रविधिबारेमा समेत जानकारी दिएका छन् । रुकुम पुर्वको हिमाली जिल्लाबाट त्यहाँ उत्पादीत राडीपाखीको बिक्री संगै डेमो समेत राखीएको छ ।
जसमा उपभोक्ताले डेमो हेर्दे उत्पादित बस्तु खरिद बिक्री समेत गर्न पाउँछन । प्रदेशमा रहेका संघीय कार्यालय मत्स्य संरक्षण तथा प्रवद्र्धन केन्द्र, प्रधानमन्त्री कृषि आधुनीकरण परियोजना सहित प्रदेशको जिल्ला भेटेरीनगरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको प्रवद्र्धनमा देशकै प्रख्यात छपियाको माछाको समेत परिकार सहित विक्रीस्थल राखीएको छ ।
मेलामा निःशुल्क बाली शिविर
बालि संरक्षण प्रयोगशाला, बाँके तथा राष्ट्रिय गहुँवाली अनुसन्धान कार्यक्रम भैरहवाको प्राविधिक सहयोगमा लुम्बिनी एक्स्पोमा पुस १४ र १५ गते निःशुल्क रूपमा बाली परिक्षण प्रयोगशाला सञ्चालन गरिएको थियो जसमा ७१४ जना किसानले विभिन्न स्थानबाट बालि परिक्षण गरेको लुम्बिनी एक्सपो कृषि प्याभिलियन पेभिलियन संयोजक मेघराज पौडेलले दिनुभयो ।
‘तरकारी तथा फलफुल बालीमा विभिन्न रोगकीराको प्रकोप देखिए पनि किसानहरुले हामीलाई खबर गर्नुहुन्छ । सबै किसानलाई एकै ठाउँबाट रोगकीराको रोकथाम, उपचार लगायतका विषयमा जानकारी गराउन बाली बैज्ञानिक डा. रोशन बस्नेतले बताउनुभयो । बाली बैज्ञानिक डा. रोशन बस्नेतको संयोजकत्वमा डा.विनिता शर्मा , डा. लक्ष्मण अर्याल,डा. कमल शाही,डा.नारायण खत्री लगायतको बाली प्राविधिकको टोली आएको थियो ।
निःशुल्क माटो शिविर
लुम्बिनी एक्स्पोमा माटो प्रयोगशाला खजुराबाट प्राविधिक तिलक बहादुर थापा, हरिकुमार थापा र ल्याब असिष्टेन्ट चन्द्रकला बुढाथोकिको विशेषज्ञ टिम समेत आएको थियो । टिमले माटो तथा मल परीक्षण प्रयोगशाला, खजुरा बाँके बाट पुस ९ गते देखि १३ गते सम्म निःशुल्क रूपमा घुम्ति माटो परिक्षण प्रयोगशाला सञ्चालन गरिएको थियो जसमा ४३१ जना किसानले विभिन्न स्थानबाट माटोको नमुना परिक्षण गरेको लुम्बिनी एक्सपो कृषि प्याभिलियन संयोजक मेघराज पौडेलले जानकारी दिनुभयो ।
जसमा किसानले माटोमा अम्लीय अवस्था वा क्षारिय अवस्था वा कुन प्रकारको माटो छ, सुधारको लागी गर्नुपर्ने काम सहित माटो अनुसार विउ विजन लागाउने सल्लाह सुझाव लिएका थिए । किसानलाई सहज रुपमा सेवा दिने उद्देश्यले एक्स्पोमै निशुल्क माटो परीक्षण शिविर राखिएको लुम्बिनी एक्स्पोका कृषि तथा प्रविधि उपसमिति संयोजक मेघनाथ पौडेलले बताउनुभयो । माटो परीक्षण गरेर त्यसको रिपोर्ट अनुसार मलखाद राखेमा माटोको उर्बरा शक्तिको संरक्षण पनि हुने र उत्पादन बृद्धि हुने भएकाले माटो परीक्षण निकै महत्वपूर्ण पाटो भएको माटो तथा मल परीक्षण प्रयोगशाला खजुरा बांकेका प्राविधिक तिलक बहादुर केसीले बताउनुभयो ।
एक्स्पोमा माटो परीक्षण शिविर राखिएपनि अधिकांश किसानमा माटो परीक्षण गरेर आउने रिपोर्टका आधारमा उचित मात्रामा खेतमा मलखाद राखेपछि उत्पादन बृद्धि गर्न सकिन्छ अनि माटोको उर्बरा शक्ति दीगो रुपमा संरक्षण गर्न सकिन्छ भन्ने जनचेतनाको अझै पनि कमी रहेको केसीले बताउनुभयो ।
पुस १८ गतेसम्म चल्ने एक्स्पोमा १० अन्तर्राष्ट्रिय सहित ६ सय स्टल रहेका भएपनि धेरैको चासो कृषि पेभिलियनमा छ । मुलुकले वर्षेनी खर्बौंको कृषिजनय वस्तु विदेशबाट आयात गर्नुपरेकाले मुलुक कृषिमा आत्मनिर्भर हुनका लागि कृषिमा आधुनिक प्रविधिको प्रयोगमा जोड दिनुपर्छ भन्ने उद्देश्यले कृषि प्रविधि र औजारको प्रदर्शनी, निशुल्क परामर्शसहित निशुल्क माटो परीक्षण शिविर पनि राखिएको एक्स्पो आयोजक संस्थाका अध्यक्ष कृष्णप्रसाद घिमिरेले बताउनुभयो ।



