रुपन्देहीको क्षेत्र नं. २ मा नेपाली काँग्रेस सहितको सत्ता गठबन्धनमा चुनावी सरगर्मी बढेको छ । पछिल्लो समय राष्ट्रिय जनमुक्ति पार्टी पनि सत्ता गठबन्धनमा जोडिएपछि सत्ता गठबन्धनका नेता कार्यकर्तामा उत्साह थपिएको छ ।
रुपन्देहीको क्षेत्र नं. २ मा प्रतिनीधि सभामा सत्ता गठबन्धनले राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेद्वार केशवबहादुर थापालाई समर्थन गरेपछि राष्ट्रिय जनमुक्तिले बाँकी क्षेत्रमा भएका आफ्ना उम्मेद्वारलाई निश्कृय बनाएर सत्ता गठबन्धनका उम्मेद्वारलाई विजयी बनाउने गरी चुनावी प्रचारप्रसारमा खटिएको छ । यसले सत्ता गठबन्धनका उम्मेदवार तथा नेता कार्यकर्तालाई समेत उत्साहित बनाएको नेपाली काँग्रेस क्षेत्र नं. २ (क)का सभापति खड्गबहादुर महत बताएका छन् ।
रुपन्देहीको क्षेत्र नं. २ मा सत्ता गठबन्धनको तर्फबाट प्रतिनीधि सभामा राष्ट्रिय जनमुक्तिका केन्द्रीय कार्यकारी अध्यक्ष केवशबहादुर थापा तथा प्रदेश सभा सदस्य पदमा (क) बाट नेपाली काँग्रेसका युवा नेता महासमिति सदस्य दीर्घबहादुर केसी र (ख) बाट नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य बामदेव क्षेत्री उम्मेद्वार छन् ।
सोही अनुसार सत्ता गठबन्धनले चुनावी प्रचार प्रसारका काम तिब्र रुपमा अगाडि बढाएको छ । रुपन्देही क्षेत्र नं. २ अन्तरगत प्रदेश सभा क्षेत्र नं. २ (क) का उम्मेद्वार दीर्घबहादुर (कुमार) केसीको पक्षमा जीत सुनिश्चित गराउने गरी चुनावी प्रचार प्रसारको काम अगाडि बढाईएको महतले बताएका छन् । गठवन्धनमा रहेका दलका नेता कार्यकर्तामा देखिएको उत्साह, सामाजिक क्षेत्रमा गरेको योगदान र मतदाताबाट प्राप्त भएको सुभेच्छा तथा आशिर्वादका कारण आफ्नो विजयलाई सुनिश्चित बनाएको प्रदेश सभा सदस्य पदका उम्मेद्वार दीर्घबहादुर (कुमार) केसीले बताए। उनले निर्वाचनमा आफूले गरेका वाचा र प्रतिवद्धता चुनाव पछि पनि नर्बिने बताउँदै मतदान गरेर सहयोग गर्न मतदातालाई आग्रह गरेका छन् ।
नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय जनमुक्ति पार्टीले सो क्षेत्रमा प्रतिनीधि सभा र प्रदेश सभाका उम्मेद्वारलाई विजयी बनाउने गरी चुनावी प्रसारको काम अगाडि बढाएका छन् ।
निर्वाचनबाट आफ्नो पक्षमा नतिजा निकाल्नको लागि सत्ता गठबन्धनले रुपन्देही क्षेत्र नं. २ (क) मा नेपाली काँग्रेस लुम्बिनी प्रदेश समितिका कोषाध्यक्ष प्रकाश रानाको संयोजकत्वमा गठबन्धनमा रहेका दलका प्रतिनीधिहरु सदस्य रहेको राजनीतिक दल परिचालन समिति गठन गरिएको छ । यस्तै नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र नं. २ (क)का सभापति खड्गबहादुर महतको संयोजक रहेको निर्वाचन परिचालन मुल समिति गठन गरिएको छ ।
त्यस्तै निर्वाचन परिचालन मुल समिति मातहत रहनेगरी विभिन्न १७ वटा उपसमिति गठन गरिएको नेपाली काँग्रेस प्रदेश सभा २(क) सचिव बालकृष्ण अर्यालले जानकारी गराएका छन् । प्रदेश सभा सदस्य उम्मेदवार केसीलाई विजयी गराउनको लागि गठित उपसमितिहरुले पनि आफ्ना गतिबिधिहरुलाई तिब्र रुपमा अगाडि बढाएका छन् । उपसमितिले प्रदेश सभा अन्तरगतका वडाहरुमा गठबन्धन आवद्ध दलहरुलाई समेत समेटेर वडा स्तरीय निर्वाचन समिति गठन तथा परिचालन समेत गरेका छन् । मंगलबार मात्र अनुगमन तथा बुद्धिजीवि, भूपू परिचालन समिति, महिला परिचालन, दलित परिचालन, युवा परिचालन, पेशा तथा व्यवसायी, विद्यार्थी तथा अनुशासन समितिको बैठक बसी चुनावी रणनीति तय गरिएको प्रदेश सभा सचिव राममायाँ पौडेलले बताइन् ।
कुलप्रसाद लामिछानेको संयोजकत्वमा गठित प्रतिवद्धता तयारी उपसमितिले उम्मेदवारहरुले जनताका सामु प्रस्तुत गर्ने प्रतिवद्धता पत्र तयारी पनि अन्तिम चरणमा पुगेको र छिटै सार्वजनिक गर्ने तयारीमा रहेको सभापति महतले बताए ।



