बुटवल । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र शिथिल बनेका बेला आएको मौद्रिक नीतिले आर्थिक गतविधि बढ्ने संकेत देखिएको बताउनु भयो । मौद्रिक नीतिले बैंकहरुको ब्याजदर खुकुलो बनाएकाले निजी क्षेत्रमा पुंजी प्रवाह बढ्न गई लगानीको वातावरण सहज हुने अर्थमन्त्री महतको दावी छ । ‘मौद्रिक नीतिले पोलिसी रेट ६.५ प्रतिशत तोकेको छ, यसले बैंक ब्याज दर स्वतः खुकुलो हुन्छ र बजारमा पुंजी प्रवाह बढ्छ, जग्गा कारोबार पनि सहज हुन्छ’–उहाँले भन्नुभयोे ।
नेपाल प्रेस युनियन रुपन्देहीले सोमबार बुटवलमा गरेको पत्रकार भेटघाटमा अर्थमन्त्री महतले आफूले तस्करीको सुचना दिनेलाई पुरस्कारको व्यवस्था गरेकाले सय केजी सुन पक्राउ परेको दावी गर्दै अर्थमन्त्री महतले यस प्रकरणमा जरैसम्म पुगेर अनुसन्धान हुने बताउनुभयो ।
सुन बरामद प्रकरणमा अर्थमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने कांग्रेस सांसद डा. सुनिल शर्माको अभिव्यक्तिबारे महतले शर्माको अस्पतालले स्वास्थ्य वीमा बोर्डको वीमा रकम नपाएका कारण मनपरी बोलेको बताउनुभयो ।
अर्थमन्त्री डा. महतले चालु आर्थिक वर्षमा पुँजीगत खर्च बढ्ने दावी पनि गर्नृभयो । पुँजीगत खर्च बढाउन सरकारले निश्चित समयमै ठेक्का लगाउने व्यवस्था गरेकाले पुँजीगत खर्च बढ्ने उहाँले बताउनुभयो । पुँजीगत खर्चमा वृद्धि भएसंगै आर्थिक गतिविधि तीब्ररुपमा बढ्ने अर्थमन्त्रीको दावी छ ।
अर्थमन्त्री डा. महतले तत्कालका लागि श्रोतमा केही कमी रहेपनि पुँजीगत खर्च गर्ने अवस्थामा सुधार आउने वित्तिकै देशको आर्थिक क्षेत्रले सुधारको बाटो लिने बताउनुभयो । “देश विकासलाई प्रमुख प्राथमिकतामा राखेर सरकार अघि बढेकोले निराश भैहाल्नुपर्ने अवस्था छैन”–उहाँले भन्नुभयोे । नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा. महतले नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रसारण आवश्यकताका आधारमा तय हुने बताउनुभयो ।
उहाँले नेपाली कांग्रेसमा भ्रम सिर्जना गर्ने कोशिस भैरहेको भन्दै बाहिर बैठकमा के के न भयो भन्ने हल्ला हुने भएकोले जनतालाई यथार्थ जानकारी दिन बैठकको प्रत्यक्ष प्रसारण भएको बताउनुभयो ।
उहाँले पार्टीको केन्द्रीय समितिको बैठकलाई लाईभ गरिएका कारण पार्टी भित्र र बाहिर पनि एउटै बोली आउने बताउनु यसलाई सकारात्मक रुपमा लिनुपर्ने भनाई राख्नुभयो । कार्यक्रम नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपालको अध्यक्षता र सचिव कपिल ज्ञवालीको सञ्चालनमा भएको थियो ।



