बुटवल । प्रदेश सभाको मतपरिणाम आएसँगै लुम्बिनी प्रदेशमा कस्को सरकार र कस्को नेतृत्वमा बन्ला भन्ने चर्चा शुरु भएको छ । प्रदेश संसदमा धेरै सिट जितेका नेकपा एमाले र नेपाली कांग्रेसबाटै मुख्यमन्त्री बन्ने करिब निश्चित छ । तर, ठूला राजनीतिक दलबाट भावी मुख्यमन्त्रीको दौडमा रहेका नेताहरु निर्वाचनमा पराजित भएसँगै नेतृत्व कसको हातमा पुग्ला भन्ने कौतुहलता बढेको छ ।
८७ सदस्यीय प्रदेशसभामा सरकार बनाउन ४४ जना सांंसदको समर्थन आवश्यक पर्छ । लुम्बिनीमा प्रदेशसभाको प्रत्यक्षतर्फको अन्तिम मतपरिणम सार्वजनिक भएको छ । प्रत्यक्षतर्फ ५२ सिट रहेको प्रदेश सभामा एमालेले १८ स्थानमा जित्दा नेपाली कांंगे्रस १७ स्थानमा विजयी भएको छ । माओवादी केन्द्रले ५ सिटमा जितेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीे, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले समान २ सिट जितेका छन् । जनमत पार्टीले १ सिट जित्दा ३ जना स्वतन्त्र विजयी भएका छन् ।
समानुपतिकतर्फको मतगणना जारी छ । जसमा एमाले पहिलो स्थानमा रहँदा नेपाली कांंगे्रस दोस्रो तथा माओवादी तेस्रो स्थानमा रहेको छ । चौथो स्थानमा रहेको राप्रपा रहँदा त्यसपछि क्रमशः नागरिक उन्मुक्ति, जनमत, जसपा, नेकपा एस, लोसपा, जनमोर्चालगायतका दल रहेका छन् । समानुपातिकको गणना सकिएपछि मात्रै कुन दलको कति सिट हुने भन्ने टुंग्गो लाग्नेछ । यद्यपि, पहिलो दल एमाले र दोस्रो कांग्रेस हुने देखिन्छ । त्यसैले प्रदेशमा सरकारको दाबी गर्दा यिनै दुई दलले बहुमत जुटाएर सरकार बनाउने सम्भावना बलियो छ । तर संसदमा दूई ठूला दलको उछिनपाछिनमा साना दलले उछिट्याउने पनि गरेका छन् ।
कांंग्रेस एमाले दुबैका लागि एक्ला एक्लै सरकार बनाउन हम्मे हम्मे देखिन्छ । बनाई हाले पनि टिकाउन उस्तै महाभारत हुनेछ । यदि अहिलेको लोकतान्त्रिक गठबन्धन कायम रहिरहेमा गठबन्धनको सहज सरकार बन्ने निश्चित छ । लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धनको चुनावी राणनीति केही असफल भएपनि प्रदेश सरकार बनाउन भने सहज छ । कांगे्रस र माओवादीले एकलरुपमा लड्दा पनि जित्ने सम्भावना भएका क्षेत्रहरुमा गठबन्धन हुँदा पनि प्रभावशाली नेताहरुले भने जित निकाल्न सकेनन् ।
२०७४ मा को प्रदेशसभा निर्वाचनमा तालमेल गरेर चुनाव लडेका एमाले र माओवादीले दुईतिहाई नजिकको सरकार बनाएका थिए । शंकर पोखरेल नेतृत्वको तत्कालीन नेकपाले साढे ३ वर्ष सरकार चलाउँदा नेकपा विभाजनपछि माओवादीको नेतृत्वमा डेढ वर्ष सरकार चल्यो ।
अब फेरि कांग्रेस र माओवादीबीच तालमेल गरेर अन्य साना दललाई पनि मिलाएर सरकार बनाए कांग्रेसले सरकारको नेतृत्व पाउने सम्भावना बलियो देखिन्छ ।



