बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले निर्धारित समयमै योजना कार्यान्वयनमा लैजाने गरी काम गर्न वडा सचिवहरुलाई निर्देशन दिएका छन् । बुटवलका १९ वटै वडाका सचिवहरुका लागि आयोजित योजनासम्बन्धि अभिमुखीकरण कार्यक्रममा बोल्दै नगर प्रमुख पाण्डेयले चालु आर्थिक वर्षका कुनै पनि योजना अर्को वर्षमा नसर्ने गरी काम गर्न र अघिल्लो आर्थिक वर्षका क्रमागत योजना सम्पन्न गर्न निर्देशन दिएका हुन ।
उनले योजना सम्झौता र कार्यान्वयनका लागि बनाइएको वार्षिक कार्ययोजना अनुसार काम सम्पन्न गर्न र ९० प्रतिशतभन्दा बढी पूँजीगत खर्च हुने गरी योजनाका काम गर्न निर्देशन दिए । वडाले प्रक्रियामा अघि बढाएका योजनाहरु कार्यान्वयनका लागि सहजीकरण गर्न र समयमै सम्पन्न हुने वातावरण तयार गर्न योजना शाखालाई नगर प्रमुख पाण्डेयले निर्देशन दिए । प्रमुख पाण्डेयले हरेक वडाले देशकै नमूनायोग्य र प्रभावकारी काम गर्नका लागि अघि बढ्न आग्रह गरे । ‘एउटा वडाले पाँच वर्षमा कम्तीमा एउटा यस्तो काम गर्नुस् जसले देशमै नमूना होस्, कैयौं वर्षसम्म बुटवलबासीले त्यसबाट लाभ लिने अवस्था सिर्जना गर्नुहोस्, जनप्रतिनिधि र कर्मचारीबीचको समन्वय र सहकार्यले मात्रै बुटवलको विकास सम्भव छ’उनले भने ।
बुटवलका १९ वटै वडाको समान विकास र समान हिसाबको मानवीय विकासको लागि काम गर्न वडासचिवहरुलाई नगर प्रमुख पाण्डेयले आग्रह गरेका थिए । कार्यक्रममा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले वडाहरुको समान विकासले मात्रै बुटवलको समग्र विकास झल्काउने भएकाले सोहीअनुसार काममा खटिन आग्रह गरिन । वडास्तरबाट हुने सेवाप्रवाहलाई प्रभावकारी बनाउन र सेवाग्राहीलाई छिटो छरितो सेवा दिन उपप्रमुख अर्यालले आग्रह गरिन् ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले वडाबाट प्रवाह हुने सेवा र योजनाका कामलाई चुस्त र स्थानीय आवश्यकताका आधारमा अघि बढाउन निर्देशन दिनुभयो । राजस्व संकलन र योजना कार्यान्वयनको पाटोलाई उत्तिकै महत्व दिएर काम गर्न बताए । कार्यक्रममा शहरी पूर्वाधार विकास महाशाखा प्रमुख सुमन श्रेष्ठ, योजना प्रशासन शाखा प्रमुख दामोदर ज्ञवाली, पूर्वाधार विकास शाखा प्रमुख गौतम रौनियारले योजना कार्यान्वयन र प्रक्रियाका बारेमा सहजीकरण गरेका थिए ।



