काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि मंगलबार उम्मेदवारी दरखास्त आह्वान गरिएको छ । नेपाली कांग्रेस संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिले निर्वाचन सम्बन्धी कार्यक्रम सार्वजनिक गर्दै मंगलबार दिउँसो २ देखि ३ बजेसम्म उम्मेदवारी दरखास्तका लागि आह्वान गरेको हो ।
सहमहामन्त्री भीष्मराज आङ्देम्बेको संयोजकत्वको निर्वाचन समितिले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो । जसअनुसार उम्मेदवारको प्रथम नामावली प्रकाशन मंगलबार दिउँसो ३ः३० बजे सार्वजनिक गरिने छ । दाबी विरोध दिउँसो ३ः३० देखि ४ बजेसम्म दिन सकिने भएको छ ।उम्मेदवारले नाम फिर्ता लिनका लागि अपरान्ह ४ः३० देखि ५ः३० बजेसम्मको समय दिइएको छ ।
उम्मेदवारको अन्तिम नामावली साँझ ५ः३० बजे सार्वजनिक गरिने भएको छ । उमेद्वारी दिनका लागि ५१ हजार रुपैयाँ दस्तुर लाग्ने भएको छ । मतदान बुधबार बिहान ८ देखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा हुनेछ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आइतबार पुस १० गतेसम्म सरकार गठनका लागि दावेदारीका लागि दलहरुलाई आह्वान गरिसकेकी छिन् ।
त्यस्तै बिहीबार नवनिर्वाचित सांसदहरुले शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ । कांग्रेसले सरकार गठनका लागि आफ्नो दाबी रहने जनाएको छ । ठूलो दलको हैसियत पाएको कांग्रेसको संसदीय दलको नेता नै प्रधानमन्त्री बन्ने देखिएको छ । कांग्रेसको विधानअनुसार संसदीय दलको नेता नै प्रधानमन्त्री हुने व्यवस्था छ ।



