बुटवल । बुटवल । एमाले उपाध्यक्ष विष्णु पौडेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीको रुपमा अघि बढाउने बताएका छन् । उनले मंसिर ४ मा सम्पन्न निर्वाचनबाट कुनै पनि दलको बहुमत नआएकाले बहुमत पुर्याएर ओलीलाई प्रधानमन्त्री बनाउन लागि पर्ने जनाए ।
प्रतिनिधिसभामा निर्वाचित भएपछि सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पौडेलले निर्वाचनमा एजेन्डा, आवश्यक, राष्ट्रहीत सबै हिसाबले एमालेको बहुमत आउनुपर्ने हो,आएन । तर हामीले ओेलीको नेतृत्वमा सरकार बनाउने प्रयास गर्ने बताए ।
उनले मुलुकलाई स्थिर राजनीति प्रदान गर्नका लागि पनि एमालेको भूमिका रहने बताए । उनले एमालेको राजनीतिक स्थायीत्वको एजेण्डा सफल नभएको उल्लेख गर्दै एमालेको नेतृत्व बिना देशले निकास नपाउने दाबी गरे । उपाध्यक्ष पौडेलले मुलुक गणितिय खेलमा जान सक्ने खतरा रहेको पनि औंल्याए । उनले एमालेले स्थिरता, विकास र समृद्धिको एजेण्डालाई पुरा गर्न प्राप्त परिणाममा टेकेर पहलकदमी लिने बताए ।
पूर्वअर्थमन्त्री समेत रहेका पौडेलले अन्य दलका उम्मेदवारलाई मतदान गर्ने मतदातालाई पनि पराजित भएको महसुस नगर्न आग्रह गर्दै आफू सबैको साझा जनप्रतिनिधि भएर कसैप्रति दूरी नराखी समदूरी राखेर व्यवहार गर्ने बताए । सबैको रायसुझाव लिएर रुपन्देहीको विकासमा लाग्ने उनले जनाए । पौडेलले मतदाताको सुझावलाई आत्मसाथ गरेर असल जनप्रतिनिधिको भूमिका निभाउने प्रतिबद्धता पनि गरे । पौडेलले चुनावका बेला अस्वस्थ प्रतिस्पर्धा, आरोप प्रत्यारोप भन्दा माथि उठेर आफ्ना एजेण्डा प्रस्तुत गरेर आफूले स्वस्थ प्रतिस्पर्धा गर्ने संस्कारको सुरुआत गरेको दावी गरे ।



