बुटवल । समाजवादी मोर्चाले आगामी भदौ १२ गते बुटवलमा मोर्चाको प्रदेश समिति घोषणासहित सन्देशसभा गर्ने भएको छ । मोर्चामा आवद्ध दलहरु नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादी र नेपाल कम्युनिष्ट पार्टीको बुधबार बसेको लुम्बिनी प्रदेश स्तरीय बैठकले मोर्चाको केन्द्रीय कार्ययोजना अनुरुप यहि भदौ १२ गते बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा प्रदेशस्तरीय बृहत् सन्देशसभा गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित मोर्चामा आवद्ध दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने उक्त सन्देश सभामा चार पार्टीका लुम्बिनी प्रदेश अन्तर्गतका विभिन्न जिल्लाहरुबाट अगुवा कार्यकर्तासहित आम जनताको सहभागिता रहने कार्यक्रमका प्रचारप्रसार संयोजक मनिकर कार्कीले बताउनुभयो ।
संविधानले परिकल्पना गरेको ‘समाजवाद उन्मुख’ अर्थराजनीतिक रुपान्तरणका लागि नेपाली मौलिकता अनुरुपको समाजवादी बाटो तय गर्ने लक्ष्यका साथ चार पार्टीले गत असार ४ गते समाजवादी मोर्चा घोषणा गरेका थिए । मोर्चाको केन्द्रीय कार्ययोजना अनुरुप सातै प्रदेशहरुमा मोर्चाको प्रदेश समिति घोषणा र सन्देश सभा गर्ने कार्यक्रम अनुरुप बुटवलमा कार्यक्रम हुन लागेको हो ।
मोर्चाको केन्द्रीय निर्णय अनुसार लुम्बिनी प्रदेशको बुटवलमा हुने सन्देशसभाको संयोजन गर्ने जिम्मेवारी नेकपाले पाएको छ । बैठकले लुम्बिनी प्रदेशमा समाजवादी मोर्चाको प्रादेशिक तथा स्थानीय संरचना निर्माण गरी प्रदेश अन्तर्गतका सबै स्थानीय तहहरूमा समाजवादी मोर्चाको कार्यक्रम र अभियानहरू संचालन गर्ने कार्ययोजना निर्माण गरेको छ ।



