कपिलवस्तु । तिज विशेष कार्यक्रमको नाममा तडकभडक र खर्चिलो तरिकाले तीजको कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले सूचना निकाल्दै खर्चिलो तथा भड्किलो तरिकाले तीज विशेष कार्यक्रम नगर्न जिल्लावासीहरूमा अनुरोध गर्नुभएको हो ।
यस्ता कार्यक्रमले विभिन्न विकृति विसङ्गति र सामाजिक अपराधलाई प्रोत्साहन दिएको भन्दै सार्वजनिक स्थल, पार्टी प्यालेसमा रकम संकलन गर्ने उद्देश्यले मेला–महोत्सव नगर्न पनि निर्देशन दिइएको छ । सामाजिक अनुशासन कायम गर्न राजनीति दल, नागरिक समाज, पेशागत संघ नागरिक समाज संचारकर्मी, महिला संजाल लगायतका संस्थाहरुलाई सहयोग गर्न अनुरोध समेत गरिएको छ ।
पछिल्ला वर्ष तीज पर्व मनाउने नाममा विभिन्न तडकभडकसहितका अत्यन्त खर्चिला तथा भड्किला कार्यक्रम गर्ने परिपाटी मौलाउँदै गएको छ। त्यसले विभिन्न विकृति र सामाजिक अपराधलाई प्रोत्साहन पुगेको भन्दै प्रशासनले जिल्लावासीलाई सचेत बनाएको हो ।
प्रशासन कार्यालयले सूचना विपरीत गरे–गराएमा सामाजिक व्यवहार (सुधार) ऐन तथा नियमावली २०३३ तथा प्रचलित कानुन बमोजिम कारबाही गर्नेरगरिने समेत जनाएको छ ।



