काठमाडौँ । नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ । पार्टीको सोमबार बसेको सचिवालय बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट पार्टी बाहिरिने निर्णय गरेको हो । साथै सरकारलाई दिएको समर्थन पनि पार्टीले फिर्ता लिने निर्णय गरेको उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिए ।
पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष पौडेलले प्रधानमन्त्री दाहालले नेकपा एमाले र एमालेले प्रतिनिधित्व गरेका मन्त्रीहरूप्रति गरेको व्यवहार र टिप्पणीका कारण आफूहरू सरकारबाट बाहिरिन बाध्य भएको बताए । उनले सरकारले प्रतिनिधित्व गर्नुपर्ने ह्युमन राइट्स काउन्सिलको बैठकमा जानबाट परराष्ट्रमन्त्री विमला राईलाई अकारण रोकेकोमा आक्रोश व्यक्त गरे । ‘मन्त्रिपरिषद्को निर्णयअनुसार बैठकमा जान लाग्नुभएकी परराष्ट्रमन्त्रीज्यूलाई निर्देशन दिएर अकारण रोकियो ।
हामीलाई स्वेच्छाले सरकार छाड्न लगाउने, नछाडे बिना विभागीय मन्त्री बनाउने तयारी गरियो । सार्वजनिक रूपमा नै सरकारमा हाम्रो सहभागिताबारे टिप्पणी गरेपछि हामी यो सरकारबाट अलग हुने निर्णय गरेका हौँ,’ पौडेलले भने ।



