बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निर्माणाधीन सडकको स्तर उन्नति हुने भएको छ । विश्व बैङ्कको सहयोगमा तिलोत्तमा ९ मंगलापुर देखी कान्छी बजार जोड्ने सडकको बिहीबार एक कार्यक्रमका बिच शिलान्यास गरिएको हो । ४.८६ किलोमिटर लम्बाइको सडकको विश्व बैकका कन्ट्री म्यानेजर फारिस हाडाड जेभों, र तिलोत्तमा नगरपालिकाका प्रमुख उपप्रमुखले शिलान्यास गरेका हुन् ।
शिलान्यास पश्चात् तिलोत्तमा नगरपालिकामा आयोजित कार्यक्रममा बोल्दै विश्व बैकका कन्ट्री म्यानेजर फारिस हाडाड जेभोंले नेपालका १० स्थानीय तहलाई कार्यक्रम दिएको मध्य तिलोत्तमा नगरपालिले काम सुरु गरेको बताउँदै खुसी व्यक्त गर्नुभयो । कृषि उत्पादन र बजारीकरणको लागि सहजता होस भन्ने उद्देश्यले ऋण सहयोग गरेको उहाँले बताउनुभयो ।
तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाणले निर्माणाधीन सडक समयमा नै सम्पन्न हुने बताउँदै यो सडकले त्यस क्षेत्रका व्यक्तिहरूलाई आर्थिक उपार्जनमा जोड्ने बताउनुभयो । उहाँले कृषिलाई आर्थिक विकास सँग जोडेर बाटो बनाउन विश्व बैङ्कले सहयोग गरेको बताउँदै यो सडक निर्माणमा सहयोग गर्न स्थानीयहरूलाई आग्रह गर्नुभयो ।
उहाँले बजारका सहरी सडकहरु जस्तै सडक बन्ने बताउँदै कृषि उत्पादन, बजारीकरण, आवतजावत, अन्तर्राष्ट्रिय विमानस्थल तथा सिमानाका पुग्न सहजता र आन्तरीक पर्यटक भित्राउनको लागि निकै महत्त्वपूणर् साबित हुने बताउनुभयो । उहाँले अहिले सडकको लम्बाई ४.८६ किलोमिटर रहे पनि अझै १.६ किलोमिटर थप्ने पहल गरेको बताउँदै विश्व बैक सँग थप प्रयास गर्ने बताउनुभयो ।
तिलोत्तमा नगरपालिका उपप्रमुख जागेश्वरी देबी चौधरीले निर्माणाधीन सडकले तिलोत्तमा ७ र ९ का स्थानीयलाई निकै फाइदा पुग्ने बताउँदै समयमा नै सम्पन्न गर्नमा सहयोग गर्न आग्रह गर्नुभयो । तिलोत्तमा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले सडकको २०७९ भदौ २३ गते देखी सम्झौता सुरु भएको बताउँदै अहिले सम्म १४ प्रतिशत काम सम्पन्न भइसकेको बताउनुभयो । उहाँले अहिलेसम्म १४ प्रतिशत काम सम्पन्न भइसकेको बताउनुभयो । उहाँले साइट क्लियरेन्स तटबन्ध भर्ने, ढुङ्गा चिन्नेलगायत काम भइरहेको बताउनुभयो ।
नेपाल अर्बन गभरमेन्स एन्ड इन्फास्ट्रक्चर प्रोजेक्टअन्तर्गत निर्माणाधीन सडक २०८१ भदौ २२ गते सम्पन्न गर्ने गरी ५९ करोड ३ लाख ८ हजार ८ सय ९० रुपैयाँमा शर्मा सगुन जेभी बुटवलले ठेक्का पाएको नगरपालिकाका इन्जिनियर प्रदीप बलले जानकारी दिनुभयो । उहाँका अनुसार सडकको चौडाई १३ मिटरसम्म हुनेछ । नालीमाथि २.७५ मिटर फुटपाथ हुनेछ । १२ वटा बक्स र १५ वटा पाइपका कल्भर्टहरू निर्माण हुनेछन् ।
नेपाल अर्बन गभरमेन्स एन्ड इन्फास्टक्चर प्रोजेक्टका निर्देशक रवीन्द्र बोहराले सडक निर्माणमा गुणस्तरीय सामाग्रीहरूको प्रयोग गर्दै आएको बताउँदै यसको नियमित निरीक्षण र अनुगमन आवश्यक रहेकोमा जोड दिनुभयो ।



