बुटवल । भोलीदेखि बुटवलमा जव फेयर (रोजगार मेला) हुदैछ । कामदारको खोजिमा रहेका उद्योगी व्यवसायी र कामको खोजीमा रहेका जनशक्तिबिच भेटघाट गराउने गरि रोजगार मेला गर्न लागिएको हो ।
उद्योग प्रतिष्ठानको आवश्यकता अनुसार दक्ष जनशक्ति उत्पादन तथा आपूर्ति गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ र बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा भेली मंगरबार र पर्सी बुधबार दुई दिन रोजगार मेला गर्न लागिएको बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका सदस्य उज्ज्वलप्रसाद कसजूले जानकारी गराउनु भयो ।
महिला, अनौपचारिक अर्थतन्त्रमा कामदार र रोजगारीका लागि फर्किएका आप्रवासीहरुको सीप अभिबृद्धि परियोजना अन्तरगत स्वदेशमै कामको खोजीमा रहेका तथा बैदेशिक रोजगारबाट फिर्ता भएका युवाहरु एवं रोजगारदाता सम्पर्क गरी रोजगारी प्रबर्दन गर्ने उद्देश्यले रोजगारदाताहरु समेतको सहभागितामा मेला सञ्चालन गरिने छ ।
मेलाको सम्पूर्ण तयारी पूरा भएको र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले उद्घाटन गर्नुहुने तयारी गरिएको संघका महासचिव विमलराज भट्टराईले बताउनु भयो । अन्तर्राष्ट्रिय श्रम संगठन (आई.एल.ओ.)को सहयोगमा बुटवलको महाराजा रिसोर्टमा हुने दुई दिने रोजगार मेलामा बढीमा ३० उद्योग प्रतिष्ठानको सहभागिता हुने बुटवल उद्योग वाणिजय संघका कार्यक्रम अधिकृत मेलाका फोकल प्रसन केशव ढकालले जानकारी गराउनु भयो ।
रोजगार मेलाका माध्यमबाट स्थानीय उद्योग व्यवसायको लागि आवश्यक दक्ष श्रमिकको आपूर्तिका साथै उपयुक्त सीपयुक्त जनशक्ति प्राप्तिमा सहयोगी हुने र रोजगार योग्य जनशक्तिलाई सीप अनुसारको रोजगार प्राप्त गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।



