बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । प्रदेशमा ट्विन सहरको रुपमा विकास भईरहेका बुटवल–भैरहवा, नेपालगञ्ज –कोहलपुर र घोराही–तुल्सीपुरलाई एकआपसमा कनेक्ट गर्नका लागि ट्राम वा रेलको सम्भाव्यता अध्ययन गरी योजनाहरु अगाडी बढाइने योजनासहित निर्वाचन घोषणा पत्र सार्वजनिक गरेको हो । बिहीबार बुटवलमा घोषणापत्र सार्वजनिक गर्दै कांग्रेसका प्रदेश सभापति अमरसिंह पुनले पार्टीको केन्द्रीय घोषणापत्रलाई आधार मानेर प्रदेशका कामलाई प्राथमिकता दिदै घोषणापत्र तयार गरिएको बताए । साथै घोषणापत्रमा प्रदेशका सम्पुर्ण जिल्ला सदरमुकाम जोड्ने सडकलाई डेडिकेटेड दुई लेनको सडक बनाउने र राजमार्गहरुलाई डेडिकेटेड चार लेनको बनाउने प्रतिबद्धता जनाएको छ । यस्तै सिद्धबाबा सुरुङ मार्ग, दाङ उपत्यकालाई पुर्व–पश्चिम राजमार्ग जोड्ने सुरुङ मार्ग र माडि बहुउदेश्यीय जल परियोजनामा थप सडक सुरुङ मार्गको योजना छ प्रस्तुत गरेको छ । घोषणापत्रमा लुम्बिनी विकास कोषलाई संघ र प्रदेशको सामूहिक कार्यक्षेत्रमा ल्याउनुपर्ने भनिएको छ । लुम्बिनीमा बौद्ध धर्माबलम्बीको बसोबास भएको मुलुकबाट प्रसुति गराउन आकर्षित गर्न बर्थिङ सेन्टरका रुपमा विकास गर्ने घोषणापत्रमा उल्लेख छ । घोषणापत्रमा प्रदेश स्तरीय विज्ञान तथा प्रविधि प्रतिष्ठान स्थापना गर्ने, एक पालिका एक प्राविधिक विद्यालय बनाउने र स्टेम शिक्षा प्रणाली लागू गर्ने उल्लेख छ । यस्तै कृषितर्फ कृषि अनुसन्धान केन्द्र स्थापना गर्ने, मल कारखाना खोल्ने, चिस्यान केन्द्र, जडिबुटी प्रशोधन केन्द्र बनाउने र कृषिलाई बजार र अनुसन्धासित जोड्न आवश्यक पूर्वाधारको स्थापना र स्तरोन्नति गरिने उल्लेख छ । यस्तै युवा तथा उद्यमशीलतातर्फ एक पालिका, एक पालिकास्तरीय उद्यम परामर्श र आविष्कार केन्द्र स्थापना, एक पालिका एक खेलकुद केन्द्र र पुस्तकालय स्थापना गर्ने भनिएको छ । यस्तै लुम्बिनी प्रादेशिक अस्पताल, भेरी अस्पताल र राप्ती विज्ञान प्रतिष्ठानलाई विशिष्टीकृत अस्पतालका रुपमा विकास गर्ने कांग्रेसले घोषणा गरेको छ । अत्यावश्यक औषधी उद्योग प्रदेशभित्रै स्थापना गर्ने, दीर्घरोग तथा डाइलासिस गर्नुपर्ने बिरामीलाई निशुल्क उपचार गर्ने, निरोधात्मक स्वास्थ्य सेवा सञ्चालन गर्ने उल्लेख छ ।



