गृहमन्त्री बालकृष्ण खाणले मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनपछि संघ र सातै प्रदेशमा पाँच दलीय गठबन्धनले सरकार बनाउने बताएका छन् । लामो संघर्ष पश्चात् प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई थप मजबुत बनाउँदै नागरिकको अवस्था परिवर्तन गर्न पाँच दलीय गठबन्धन बनेको र यसको जीत अत्यावश्यक रहेको औल्याउँदै खाँणले सबै प्रदेश र संघमा बहुमत ल्याएर गठबन्धनले सरकारले बनाउनले जनाए ।
शनिबार भैरहवामा नेकपा माओवादी केन्द्रले आयोजना गरेको बृहत् कार्यकता भेलामा बोल्दै रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका गृहमन्त्री खाँणले भने, ‘धेरै स्थानीय तहमा गठबन्धनको सरकार बनेको छ, अब सात प्रदेश र संघमा पनि गठबन्धनले बहुमत ल्याउँछ र सरकार बनाउँछ । देश विकास गर्छ, समृद्धि हासिल गर्छ । जनजीविकामा परिवर्तन ल्याउँछ ।’
एमाले नेतृत्वमा बनेको चुनावी गठबन्धन पश्चगामी रहेको बताउँदै यो गठबन्धनले जितेमा प्राप्त उपलब्धि उल्टन सक्नेतर्फ सचेत हुनुुपर्ने उनले बताए । ‘यस निर्बाचनमा मैले चुनाव जित्छु की हार्छु भन्ने भन्दा पाँच दलीय गठबन्धनका शीर्ष नेताले जित्नुहुन्छ की नाइ ? भन्ने सवाल महत्वपूर्ण छ’, खाँणले भने, ‘नेपाली कांग्रेससहितका पाँच दलीय गठबन्धन सत्तामा पुगेर मन्त्री–प्रधानमन्त्री बन्नका लागि मात्र होइन, यो मुलुकको सुन्दर र उज्यालो भविष्य निर्माणका लागि हो ।’
मुलुकको विकासका लागि जसले इतिहास बनाए र देशलाई जोगाएका छन् त्यस्ता शीर्ष नेताहरु कोही पनि यस निर्बाचनमा पराजित हुन नहुने र आवश्यकता परेमा ती शीर्ष नेताहरुलाई जिताउन आफू आफ्नो चुनावी अभियान बीचमैं छाडेर उनीहरुको निर्बाचन क्षेत्रमा चुनावी मोर्चा बनाउन जान तयार रहेको खाँणले बताए ।
बेलाबेलामा नेपाली कांग्रेस र बामपन्थी शक्ति मिलेर नेपालमा ठूलाठूला राजनीतिक परिवर्तन भएको उनले उल्लेख गरे । ०४६ सालमा निर्दलीय पंचायती व्यवस्थाको अन्त्य र बहुदलीय प्रजातन्त्रको आगमन, २०६०–०६२ को संयुक्त आन्दोलनबाट निरंकुश राजतन्त्रको अन्त्य, १२ बुंदे सहमती यसैको परिणाम भएको उनले बताए ।
पाँच दलीय गठबन्धनको काँधमाथि आउने दिनमा सशक्त र समुन्नत नेपाल बनाउने जिम्मेवारी रहेको उनले बताए । पाच दलीय गठबन्धनप्रति जनताको ठूलो आशा र भरोसा राखेको उनको भनाइ थियो ।
‘नेपालको सामाजिक, आर्थिक, शैक्षिक सवै क्षेत्रमा आमुल परिवर्तन गरि नेपाललाई विकसित मुलुकको रुपमा रुपान्तरण गर्नु परेको छ’, उनले भने, ‘यसैका लागि पाँच दलीय गठबन्धन गर्नु परेको हो र मुलुकलाई विकसित र समृद्ध बनाउन यो गठबन्धनले संकल्प गरेको छ ।’ यो गठबन्धनलाई निर्बाचन पछिसम्म पनि निरन्तरता दिइने उनले जनाए ।
नेकपा एमाले अध्यक्ष केपी ओलीले बारम्बार संविधान उल्घंन, संसद बिघटन, स्वतन्त्र पत्राकारिता माथि हस्तक्षेप, जनताको हक अधिकारमाथि बन्देज लगाउने जस्ता काम नगरेको भए अहिलेको पाँच दलीय गठबन्धनको जन्म नहुने भएकाले यो गठबन्धन बन्नु पर्ने बातावरण बनाइदिएको भन्दै उनले केपी ओलीलाई धन्यबाद समेत दिए ।
माओवादीलाई शान्तिपूर्ण प्रक्रियामा ल्याउन र राजतन्त्रलाई हटाउन स्वर्गीय गिरिजाप्रसाद कोइराला र पुष्पकमल दाहाल प्रचण्ड बीचको आपसी बार्ता र पहलबाटमात्र सम्भव भएकाले दुवै नेताको ठूलो योगदान रहेको उनले बताए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई निर्बाचनमा घेराबन्दी गरि पराजित गर्न सारा स्वदेशी र बिदेशी शक्ति लागेको सूचना आफूले पाएपछि यसबारेमा प्रचण्डलाई जानकारी गराएको र पाँच दलीय गठबन्धनकै प्रस्तावमा प्रचण्डलाई निर्बाचनमा गोरखा लगिएको उनले बताए । ‘प्रचण्डका लागि मैले आफ्नो निर्बाचन क्षेत्र रुपन्देही ३ छाड्न तयार थिएँ’, खाँणले भने ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य पूर्वमन्त्री एवं समानुपातिकतर्फका प्रतिनिधिसभा उम्मेदवार हकिकुल्लाह खाँले एमाले अध्यक्ष केपी ओलीले निरन्तर जनता र संविधानमाथि घात गरेको बताए । उनी जनताप्रति कहिल्यै जवाफदेही नभएको जनाए । मुलुकको समृद्धि, विकास र जनजीविका परिवर्तनका लागि पाँच दलीय गठबन्धनलाई जिताउन उनले आग्रह गरे ।
क्षेत्र नम्बर ३ (क)का प्रदेशसभा उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टीका नेता सन्तोषकुमार पाण्डेयले गठबन्धन एकढिक्का भए अत्यधिक मतले आफूहरुले निर्वाचन जित्ने बताए । उनले यस क्षेत्रमा मुलुकको नेतृत्व गर्नसक्ने गृहमन्त्री खाँण उम्मेदवार हुनु नै क्षेत्रबासीका लागि खुशी कुरा भएको जनाउँदै दुईतिहाई मतले जिताउनु आग्रह गरे ।



