बुटवल । रुपन्देही क्षेत्र नम्बर –३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा) नेता दीपक बोहरा निर्वाचित भएका छन् । बोहराले बहालवाला गृहमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणलाई पराजित गर्दै विजयी भएका हुन् ।
विजयी बोहराले खाणलाई २ हजार ६८१ मतान्तरले पराजित गरे । बोहराले ३६ हजार ७१७ मत पाउँदा खाणले ३४ हजार ३६ मत प्राप्त गरेका हुन् ।
उनी २०३६ र २०४२ सालमा रुपन्देहीबाट राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएका थिए । २०७० सालमा रुपन्देही क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्यमा निर्वाचित बोहरा २०७४ को निर्वाचनमा भने तत्कालीन एमाले नेता घनश्याम भुसालसँग क्षेत्र नम्बर ३ बाट पराजित भएका थिए ।
बोहरा पंचायतदेखि गणतन्त्रसम्म सधैजसो सरकारमा रहेका नेतामा पर्छन् । उनी ९ पटक मन्त्री भइसकेका छन् । २०३८ मा सहायक पर्यटन मन्त्री भएपछि उनको राजकीय यात्रा सुरु भएको थियो । बोहरा २०३८ सालमा नै पर्यटन राज्यमन्त्री पनि भएका थिए । २०४० मा पनि उनी पर्यटन राज्यमन्त्री भए ।
२०४३ मा निर्माण तथा यातायात राज्यमन्त्री भएका उनी २०४४ मा निर्माण तथा यातायात मन्त्री बने । त्यसपछि बोहरा लामो समय मन्त्री भएनन् । जब मुलुकमा गणतन्त्र स्थापना भयो । त्यसयता उनी ४ पटक मन्त्री बने । २०६४ को संविधानसभा निर्वाचनमा पराजित बोहरा चुनाव हारेर पनि २०६६ मा वन तथा भू–संरक्षण मन्त्री बने । २०७० को दोस्रो संविधान सभा निर्वाचनमा विजयी उनी २०७२ मा श्रम तथा रोजगार मन्त्री बने । २०७३ मा आपूर्ति बनेका बोहरा २०७४ मा स्वास्थ्य मन्त्री बनेका थिए ।



