बुटवल । शुभयात्रा संस्था रुपन्देहीको प्रथम अधिवेशन सम्पन्न भएको छ । आइतवार सम्पन्न अधिवेशनले बिनोद ढकालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको हो । जसकोे उपाध्यक्षमा प्रभा अर्याल , सचिवमा प्रकाश गौतम र कोषाध्यक्षमा दुर्गा पाण्डेलाई सर्वसम्मत निर्वाचित गरेको छ ।
यसै गरी सदस्यहरुमा पुण्य थारु, निरज खनाल, सन्दिप यादब, अमृत गुरुङ, शोभा राना मगर, तृष्णा श्रेष्ठ , सम्राट थापा निर्वाचित भएका छन् ।
अधिवेशनलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य जमुना ढकालले लुम्बिनी प्रदेश लाई पर्यटकीय हबको रुपमा बिकास गर्न प्रदेश सरकारको पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरिन् ।
यसैगरी संस्थाका केन्द्रीय अध्यक्ष मधुसूदन गैह्रेले संस्थाको बिधान अनुसार यो आर्थिक बर्षमा पाँच जिल्लामा शाखा बिस्तार गर्ने योजना रहेको बताए । कार्यक्रममा अधिवक्ता महेन्द्र पाण्डे, इन्जिनियर कुशुमराज ज्ञवाली, प्रजापाल गिरी,सुबोध भट्टराईले मानव सृजीत फोहोर मानव जीवनकै लागि चुनौती बन्नु अगावै यसको बैज्ञानिक व्यवस्थापनमा सरोकारवालाहरुले ध्यान दिनुपर्ने बताउँदै निर्वाचित कार्यसमितिलाई शुभकामना दिए ।
यसैगरी अधिवेशन पछि संस्थाको पहिलो बैठकले सामाजिक कोषको स्थापना र संचालन सम्बन्धि कार्यबिधी निर्माण गर्न भेषराज पाण्डे, फोहोर व्यवस्थापनका सन्दर्भमा पालिकाहरुसङ्ग समन्वय गर्न रमेश कुमार पराजुली र स्वास्थ्य शिविर सञ्चालन गर्न नारायण न्यौपानेलाई संयोजकको जिम्मेवारी प्रदान गरेको छ ।
मधुसूदन गैह्रेको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन मुक्तिनाथ गैह्रेले गरेका थिए । बि.स. २०५४ सालमा स्याङ्जा जिल्लामा दर्ता गरि स्याङ्जा जिल्लामा पर्यटनको प्रबर्द्धनमा टेवा पुग्ने गरि भौतिक निर्माण सहितका केही अनुकरणीय कामहरु गर्दै आएको शुभयात्रा संस्थाले केही समय अगाडी देखि रुपन्देहीमा समेत सकृयता देखाउदै आएको छ । शुभयात्रा संस्था फोहर व्यवस्थापन, पर्यटन, पर्यावरण र स्वास्थ्यलाई आफ्नो पहिलो प्रार्थमिकतामा राखेर स्थापना भएको संस्था हो ।



