काठमाडौं । देशले तेस्रो राष्ट्रपतिको रुपमा रामचन्द्र पौडेललाई पाएको छ । राष्ट्रपति पदका लागि बिहीबार भएको निर्वाचनमा एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै कांग्रेसका पौडेल निर्वाचित भएका हुन् । ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका पौडेललाई संघीय संसदका २१४ सांसद र प्रदेशसभाका ३५२ सदस्यले मत दिएका हुन् ।
कांग्रेस, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाले पौडेलको पक्षमा मतदान गरेका थिए । एमाले उम्मेदवार नेम्वाङले १५ हजार ५१८ मत भार पाए । उनलाई संघीय संसदका ९६ जना सांसद र प्रदेशसभाका १६२ सदस्यले मत दिएका हुन् । बिहीबार भएको निर्वाचनमा संघीय सांसदतर्फबाट १९ जना र प्रदेशसभातर्फबाट ३२ जना अनुपस्थित भएका थिए । राष्ट्रपति निर्वाचनमा कुल ८८२ मतदाता छन् । तर, मतदानमा भने ८३१ मत खसेको थियो । निर्वाचन आयोगका अनुसार संघतर्फ ३१३ र प्रदेशतर्फ ५१८ मत खसेको हो ।
प्रतिनिधिसभाका २७५ र राष्ट्रिय सभाका ५९ गरी कुल ३३४ सदस्य छन्। यसमध्ये बिरामीद्वय कांग्रेसका डा. चन्द्र भण्डारी र माओवादीका वर्षमान पुन र मुद्दा विचाराधीन अवस्थामा रहेकाले एमालेका लक्ष्मी महतो कोइरीको अनुपस्थित रहे भने सांसद सहनाज रहमानको मृत्यु भइसकेको छ ।
यसैगरी राप्रपा १४ जना सांसदहरु राजेन्द्र लिङ्देन, दीपक बोहरा, ज्ञानबहादुर शाही , दीपक सिंह, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, धवलशमशेर राणा, पशुपतिशमशेर जबरा, बुद्धिमान तामाङ, रोशन कार्की, गीता बस्नेत, बिना लामा, बिना जयसवाल र अनिशाले राष्ट्रपति निर्वाचनलाई बहिस्कार गरे । उनीहरुले पार्टीको निर्णयअनुसार बहिस्कार गरे । राष्ट्रपति चयन प्रक्रियामा नेपाल मजदुर किसान पार्टीका एकल सांसद प्रेम सुवाल तटस्थ रहे। प्रदेशसभातर्फ राप्रपाका २८, नेमकिपाका ३ र जसपाका १ जना सांसद राष्ट्रपति निर्वाचनमा अनुपस्थित रहे ।



