बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लुम्बिनी प्रदेशको आयोजनामा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बुटवलको ट्राफिक चोकमा शनिवार ‘रक्तदान महादान’ भन्ने मूल नाराको साथमा रक्तसञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा सम्पन्न भएको कार्यक्रममा कुल १ सय १ युनिट रगत संकलन भएको रास्वपा बुटवलका नेता रमेश लम्सालले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै रास्वपा केन्द्रीय सदस्य कुसुम महर्जनले पार्टी जनताको पक्षमा रहेको र जनताको काम गर्ने बताउनुभयो । लुम्बिनी प्रदेश इन्चार्ज गणेश पौडेलले हामीले दिएको रगतले कसैको जीवन बचाउनमा ठूलो योगदान पु¥याउँछ भने हाम्रो शरीरमा रहेको रगत तीन महिनामा खेर जाने भएकोले सवै व्यक्तिले तिन तिन महिनामा रक्तदान गर्न आग्रह गर्नुभयो । साथै जहाँ जस्तोसुकै अवस्थामा पनि रगतको अभाव भएमा रास्वपामा खबर गर्नुहुन आग्रह गर्नुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेश उपसभापती शालिकराम घिमिरे, रुपन्देही जिल्ला सभापति प्रकाश ज्ञवाली लगायतले शुभकामना दिदै रगत दान भन्दा ठुलो अरुदान हुन नसक्ने भन्दै आफ्नो अमुल्य रगत दान गर्ने रक्तदाताहरुलाई धन्यवाद दिनुभयो । कार्यक्रमको सञ्चालन पार्टीका लुम्बिनी प्रदेश अभियान तथा प्रचार प्रसार विभाग सचिव नवराज पाण्डेले गर्नुभएको थियो ।



