काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले युवा कांग्रेस गठनको आवश्यकता रहेको बताउनुभएको छ । काठमाडौंमा आयोजित नेविसंघ र तरुणदलका नेताहरु संगको छलफल कार्यक्रममा उहाँले युवा कांग्रेस आजको आवश्यकता भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “पार्टीका भ्रातृ संगठनलाई पुर्णता दिनु त छ नै संग संगै युवा कांग्रेस गठन समेत आजको आवश्यकता बनेको छ । पार्टीले एउटा नयाँ भ्रातृ संस्था गठन गर्नुपर्छ ।“ जुन जनताको आकर्षणको केन्द्र बन्न सकोस ।युवा कांग्रेसलाई भ्रातृ संगठनको राजनीतिबाट बाहिरिएका र विभिन्न वर्ग,पेशा र दलहरुबाट काँग्रेसका काम गर्न ईच्चाराखेका नेताहरूका लागि स्कुलका रुपमा विकास गर्न सकिने उहाँको भनाइ छ ।
पार्टी र सरकार सञ्चालनको सैद्धान्तिक र व्यवहारिक सीप सिकाउने थलोका रुपमा युवा काँग्रेस बनाउन सकिने नेता महरको अवधारणा छ । पार्टीको महासमिति र महाधिवेशनमा पनि मैले यो एजेन्डा उठाएको थिएँ । अहिले यसको सान्दर्भिकता झनै बढ्दै गएको छ । नयाँ पार्टीहरु आएका छन् । हामीले पनि नागरिकमा नयाँ आभास गराउन युवा कांग्रेस गठन गर्नुपर्ने उहाँको तर्क छ ।
२०५१ सालको मध्यावधि चुनावपछि पार्टीमा संकट देखिँदा २०५४ सालम तरुण दल व्युँताइएको स्मरण गर्दै अहिले पनि युवा कांग्रेस बनाउनुपर्ने महरको तर्क छ । “२०५१ सालपछि पार्टीमा संकट देखियो। त्यसपछि तरुण दल व्युँताउँदा कांग्रेसलाई बलियो बनाउन सहयोग पुग्यो । ०५६ मा कांग्रेसले बहुमत प्राप्त पनि गरेको थियो ,“ उहाँले भन्नुभयो, “अहिले पनि पार्टीमा संकट देखिएको छ । युवा कांग्रेस गठन गर्दा पार्टीलाई संकटबाट बाहिर निकाल्न मद्दत पुग्छ । यसमा पार्टी नेतृत्वको ध्यानाकर्षण गराउँदछु ।“
पार्टीमा वैचारिक बहस सुस्ताएको भन्दै युवा कांग्रेसमार्फ त्यसको उठान गर्न सकिने उहाँले बताउनुभयो । राजनीतिक नेता कार्यकर्ताले विकास, राजनीति , समाज , अर्थतन्त्र र नैतिक अनुसाशासन सिक्ने ट्रेनिंङ सेन्टरका रुपमा युवा काँग्रेस लाई बिकास गर्न सकिने र विभिन्न क्षेत्रमा ख्याति प्राप्ति व्यक्तिका लागि युवा कांग्रेसलाई पार्टीको प्रवेश द्वार बनाउन सकिने महरको भनाई छ ।



