बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देही र जापानी भाषा क्षमता परीक्षण ( जेएलसिटि) नेपाल बिच समझदारी भएको छ । जापान जान चाहाने विद्यार्थीको लागि भाषा परिक्षा पास गरेको प्रमाणपत्र लिनको लागि सहजतालाई मध्यनजर गर्दै इक्यान रुपन्देहीले समझदारी पत्रमा हस्ताक्षर गरेको इक्यान रुपन्देही सचिव गोविन्द बस्नेतले जानकारी दिनुभयो ।
इक्यानका केन्द्रिय महासचिव दिपकराज भुसाल, इक्यान रुपन्देहीका निवर्तमान अध्यक्ष देवबहादुर कुँवर र जेएलसिटि नेपाल बुटवलका व्यवस्थापक नविन भुसालको उपस्थीतिमा बुटवलमा एक कार्यक्रमका बिच जेएलसिटि नेपालका व्यवस्थापक गोविन्द खनाल र इक्यान रुपन्देहीका अध्यक्ष गिरिराज पाण्डेले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।
कार्यक्रममा इक्यानका केन्द्रिय महासचिव दिपकराज भुसालले यो साझेदारीले सबैका लागि सकारात्मक नतिजा ल्याउने पारस्परिक रूपमा लाभदायक सहकार्यको सुरुवात भएको बताउनु भयो । इक्यान रुपन्देहीका निवर्तमान अध्यक्ष देवबहादुर कुँवरले इक्यान रुपन्देहीले जापानिज भाषा पढ्ने विद्याथीहरुको समस्यालाई सहजता ल्याउनको लागि समझदारी गरिएको बताउनु भयो ।
कार्यक्रममा इक्यान रुपन्देहीका अध्यक्ष गिरिराज पाण्डेले जेएलसिटि नेपालले इक्यान रुपन्देहीसँग सहकार्य गरेकोमा धन्यवाद दिदै अवका दिनमा इक्यान रुपन्देहीले हरेक कार्यक्रममा हातेमालो गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाउनु भयो ।
यस समझदारी पत्रले इक्यान रुपन्देहीमामा आवद्ध भएका कन्सलटेन्सीमा अध्ययनरत विधार्थीलाई सहजता ल्याउने बताउनु भयो ।
इक्यान रुपन्देहीका अध्यक्ष गिरिराज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष राजेश पाण्डेको स्वागत र सचिव गोविन्द बस्नेतको सञ्चालनमा सम्पन्न भएको थियो ।



