भैरहवा ।
नेपाली काङ्ग्रेस रुपन्देहीले चाडपर्वको बेला भारत एवम् तेस्रो मुलुकबाट रोजगारिबाट फर्कने नेपालीले स्वदश आउँदा ल्याउने घरायसी सामानमा भन्सार लगाउँदा व्यवहारिक पक्षलाई पनि ध्यान दिन आग्रह गरेको छ ।
हाल भैरहवा भन्सार कार्यालय रुपन्देहीले एक सय भन्दा माथिको सामान ल्याउँदा भन्सार दस्तुर लिँदै आएको छ । यसले राजस्व संकलन र चोरी तस्करी नियन्त्रणमा सकारात्मक भूमिका खेलेको उल्लेख गर्दै कतिपय अवस्थामा कानूनसँगै व्यहारिकतालाई हेर्नू पर्ने माग काङ्ग्रेसले गरेको हो । काङ्ग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले विज्ञप्त जारी गर्दै भारत लगायतका तेश्रो मुलुकमा रोजगारीको शिलशिलामा गई घर फर्कदा घर परिवारका लागि चाहिने सिमित अत्यावश्यक वस्तु ल्याउँदा समेत एक सय भन्दा बढिको माल वस्तु आयातको अर्थ लगाई राजश्व बढाउने वाहानामा दुःख दिने र असुली गर्नु कदापी पनि स्विकार्य नहुने उल्लेख गरेका छन् ।

साथै सिमा क्षेत्रमा बसोवास गर्ने दुबै देशका नागरिकहरुको अर्मपर्म र सरसापटी समेत हुने सामाजिक परिवेश तथा रोटी–बेटीको सम्बन्धलाईसमेत दृष्टिगत गर्दै कानूनको व्यवहारिक कार्यान्वयना जोड दिन सरकार र सम्वद्ध पक्षले ध्यान दिनुपर्ने माग काङ्ग्रेसले गरेको छ । व्यवसायिक प्रयोजनको लागि ल्याइने सामानको हकमा एकसय रुपैयाँ मूल्य बराबरमा भन्सार शुल्क लिनु जायज भए पनि घरायसी प्रयोजनको लागि व्यवहारिक नहुने हुँदा यसमा पुर्नविचार हुनुपर्ने सभापति खाँणले बताए ।



